सपनाको भट्टीनजिकै पुगेपछि प्रायः सबै तन्नेरी र वृद्धहरूको आँखा पनि टक्क अडिन्थ्यो । चाहे सद्भावनाले होस या प्यासले । नअडियोस् पनि किन सपना अति सुन्दर मानौँ परीजस्तै थिई । गोरो बाटुलो बान्की परेको अनुहार थियो । रगत चुहिएलाजस्तै थिए दुवै गालाका पाटाहरू, आँखाहरू त्यस्तै ठुलाठूला सुन्दर थिए । अनारको दानाहरूझैँ मिलेका दाँतहरू थिए । पुष्ट छाती, हलक्कै बढेको शरीर उसको आकृति हेरेपछि धित मार्न सबैलाई हम्मेहम्मे नै पर्थ्यो ।
सत्रअठार वर्षमा उर्लिएका जवानीका छालहरूलाई किनारा लगाएर सपना हरदम छोइला, भुटुवा बनाउन, रक्सी दिन भाँडा माझ्नमै व्यस्त हुन्थी । तन्नेरीहरू सपनाको आँखामा आँखा गाडेर खुसी साट्न लालायित हुन्थे । रहर लाग्दो जवानी सपनाको पोल्टाभरि खन्याउने आशमा तँछाडमछाड गर्थे । तन्नेरीहरूले जतिसुकै मरिमेटे पनि सपनाको आँखामा आँखा राख्ने रहर अधुरो नै हुन्थ्यो । अहँ, कुनै तन्नेरीहरू सपनाको अधरमा रहरहरू टुसाएको छनक पाउँदैनथे । सपनाको भट्टीमा पस्नु निरर्थक छ भन्नेहरू पनि थुप्रै थिए ।
सपना आफ्नो लागि अथाह चाहनाका महलहरू बनाउँदैनथी । ऊ पाखुरा खियाउँथी केवल आमा र भाइबहिनीको आवश्यकता परिपूर्ति गर्नको लागि । थकाइले चुर भएर सुइय सुस्केरा हाल्दै केही क्षण टुसुक्क बस्दा पनि भाइबहिनीको भविष्य सम्झेर उसको मथिङ्गल उथलपुथल हुन्थ्यो । भाइबहिनीको लागि नै असीमित रहरहरू फुलाउँथी ।
भाइबहिनीको खुसीको खातिर भट्टीमा आउनेहरूले हानेका व्यङ्ग्यवाणलाई सजिलै आत्मसात् गर्थी । सपनाले आफ्नो बहकिन खोज्ने मनलाई शिलामा परिणत गरी । आमा र भाइबहिनीको खुसीका लागि आफ्नो रहर समर्पण गरी । लाऊँलाऊँ खाऊँखाऊँ भन्ने उमेरमा नै सम्पूर्ण बोझ सपनामाथि थुपारिदियो बाबु कृष्णभक्तले ।
पापी कृष्णभक्तलाई सपनाको फक्रन लागेको यौवनको पर्वाह भएन । न अरू चिचिला छोराछोरी र बिरामी स्वास्नीकै चिन्ता भयो । व्यक्तिगत स्वार्थमै चुर्लुम्म डुब्यो ऊ । छोरीको विवाह गर्ने उमेरमा कृष्णभक्त स्वयं सुन्दरीको मायाले मर्माहत भयो । सुन्दरीलाई पाएर उन्मत्त भएको कृष्णभक्तले स्वास्नी–छोराछोरीको मुटु छेदन गर्न कुनै कसूर बाँकी राखेन ।
पत्नी गौरीलाई घाँटी अचेटेर मर्नान्त पार्दै घाँटीबाट तिलहरी र कानबाट टपहरू थुत्यो; छोराछोरीलाई लाठाले हिर्कायो । घरमा भएका भाँडाकुँडा, लत्ताकपडा, सुनचाँदी र पैसा सबै कुम्ल्याएर निष्फिक्रीसँग हाँस्दै बाटो लाग्यो । सीताझैँ स्वास्नी र तामाका मुनाजस्तै छोराछोरीलाई दलदलमा फ्याँकेर गर्व अनुभूति गर्यो कृष्णभक्तले ।
कृष्णभक्तको त्यो वीभत्स र क्रूर व्यवहारले गौरीलगायत सपना, सजना र सविनलाई नै मर्माहत पार्यो । सबै विचलित हुँदै विलाप गर्दै रोए । भर्खरै एस.एल.सी पास गरेकी सपना केही बुझ्ने भइसकेकी थिई उसले आफ्नो हृदयमा भएका हाहाकारलाई पन्छाएर आमालाई सुमसुम्याउँदै भनी आमा, तपाईं नै रोएर समालिन सक्नुभएन भने हामी कसको सहारामा बस्नू ? बाबुलाई हाम्रो पटक्कै माया छैन, हामीचाहिँ उसको मायामा किन रुने ? आमा म ठूली भइसकेँ केही काम गरौँला । ‘राजा मरे त राज्य अड्किँदैन’ त्यस्तै बाबु गए पनि हामीलाई फरक पर्दैन हिक्मत गरेर बाँचौँ । त्यो पाजीको अगाडि भाइबहिनीलाई ठुलो मान्छे बनाएर देखाउनुपर्छ बुझ्नुभो ? नरुनोस् आमा, त्यो असत्तीको मायामा नरुनोस् ।
गौरी सपनाको कुराले केही बेर ट्वाल्ल परिन् । उनले कल्पनासम्म गरेकी थिइनन् सपना त्यति धेरै तर्क दिन सक्ने भइसकी होली भन्ने । गौरीलाई सपनाको कुरो ठिक लाग्यो । गौरीले सपनातिर हेर्दै भनिन्, नानी, तैँले ठीकै भनिस् । अब म त्यस पापीको मायामा कल्पन्नँ बुझिस् ? मनलाई कठोर पार्छु, कठोर ।
आमाको कुराले सपना पनि खुसी भई । सबैले फाटेको मन सिउनु नै श्रेय ठाने । कृष्णभक्तले नराम्रोसँग परिवारलाई लत्याएपछि गौरी र सपनाले पेट पाल्नका लागि घरैमा सानोतिनो भट्टी खोले । त्यहाँबाट आएको पैसाले एकपेट मीठोपिठो खानका साथै सजना र सविनलाई पढाउन जेनतेन पुग्थ्यो । बाबुले छोडेको जिम्मेवारी सपनाले थपक्क काँधमा थामी । आफ्नो लक्ष्य र भविष्यलाई थाती राखेर भाइबहिनीलाई शिखर टेकाउने मनमनै सङ्कल्प गरी उसले ।
बैँसलाई थेग्नु भनेको आगोका लप्काहरू निल्नुजत्तिकै कठिन थियो । सपनाले निलिरही आगोका लप्काहरू । यही क्रममा सपनाका बैँसालु दिनहरू बित्दै गए । गौरीको मृत्युपछि भने येनकेन घिसारेका दिनहरूमा अर्को विपत् आइलाग्यो । भोलिभोलि आमाको लागि औषधी किन्नुपर्ने पैसाको काम घटे पनि आमाको काजक्रियाको लागि पैसाको टड्कारो आवश्यकता पर्यो । आफैँ विह्वल भएकी सपनाले भाइबहिनीलाई समाल्नुपर्यो । यस्तो कठिन परिस्थितिमा महेशकाजीले आर्थिक सहयोग गरे । छिमेकीहरू कसैले मुखको सहानुभूति दिए भने कसैले शारीरिक रूपले काममा सहयोग गरे । अरू छिमेकीले स्वार्थरहित भावनाले सहयोग गरे भने महेशकाजीले सपनालाई पासोमा पार्न पाइन्छ कि भन्ने हिसाबले आर्थिक सहयोग गरे ।
मनमनै सोच्छन् काजी, कम्ताकी छ त्यो सपना यसो कर्के नजरले पनि हेर्दिन । अब त गुन लगाएको छु । गुनको बदला लिन बिस्तारैसित त्यसका नजिक हुन्छु । जीवनमा आनन्दका दिन आउने भयो । आहा ! त्यो भरभराउँदी परीसँगै यो जिन्दगी मस्तीमस्तीमै बिताउँछु । कहाँ रूप सिद्धेकी स्वास्नी, कहाँ सपना , महेशकाजीले मनमनै यस्तै मीठो कल्पना गरे ।
जोसुकैलाई जत्तिनै पीडा परे पनि समयलाई केही फरक परेन; दिनहरू बित्दै गए । गौरीको काजक्रिया पनि सकियो । सपनाले आफ्नो हृदयमा लागेको घाउ खाटा नबस्दै पुनः भट्टी चलाउन थाली ।
अजिँगरको आहारा दैवले पुर्यायो भनेर मख्ख भएको महेश एक दिन सपनाको भट्टीमा आए । महेशलाई देखेपछि सपनाले बडो सत्कारका साथ बस्न आग्रह गरी । सपनालाई निर्वस्त्र पार्न आतुर भएको महेशले र्याल चुहाउँदै थुचुक्क मेचमा बसे । महेश आफ्नो पैसा फिर्ता माग्न आएको हुनुपर्छ भन्ने लागेर कुरो बनाउँदै सपनाले काजीसाप केही खाने कि ? हजुरले हामीमाथि लगाएको गुन कहिल्यै बिर्सनेछैनौँ । हजुरको पैसा चाँडोभन्दा चाँडो चुक्ता गर्नेछु भन्न पनि भुलिन ।
मौका पर्खिरहेको महेशले मुसुक्क हाँस्दै भने लाटी, के पैसा, सैसा दिने कुरा गरेकी तिम्रो लागि नाथे तीसचालीस हजार त के मसँग भएको सम्पूर्ण सुम्पन तयार छु । आइन्दा तिमीले कुनै दुःख गर्नुपर्दैन । म तिमीहरूका सम्पूर्ण चाहनाहरू पूरा गरिदिन्छु । त्यसको बदलामा तिमी मेरो हृदयमा बसिदेऊ । मलाई केवल तिमी भए पुग्छ । साँच्चै सपना, म तिमीलाई पूजै गरेर राख्छु ।
महेशकाजीको कुराले सपना अक्क न बक्क भई । सपनालाई मौन देखेर महेश ज्यादै खुसी भए । सपनाले आफ्नो प्रस्ताव स्वीकार गरी भन्ने सोचे महेशले । महेश बसेको ठाउँबाट उठेर सपनाको नजिक पुगेर सपनाको हात समातेर चुम्बन गरे ।
सपनाले रिसले थर्थर काम्दै महेशलाई थुक्दै भनी, थुक्क ! पाजी, आइन्दा मलाई छोइस् भने तेरो शिर नै गिँडिदिन्छु । भट्टीमा बस्नु मेरो बाध्यता हो, भट्टीमा बस्नेहरू सबै बिकाउ हुँदैनन् । कुमार केटाहरूले त मलाई केही भन्न सक्दैनन् । घरमा स्वास्नी छोराछोरी भएको मान्छेले ...।’
भट्टीमा खलबल भएको सुनेर सजना र सविन पनि आए । महेशकाजीलाई देखेपछि नमस्कार गर्दै भने, किन हल्ला गरेको ? हामीले त केही भयो कि भन्ठानेका थियौँ ।
सपनाले बोल्न नपाउँदै महेशले सजना र सविनतिर हेर्दै भने सपना र मेरो धेरै पहिलादेखिको सम्बन्ध छ । त्यसैले त्यत्रो पैसा आँखा चिम्लेर दिएँ । अबदेखिसँगै बसौँ भनेको पटक्कै मान्दिनन् ।
सपनाले भाइबहिनीतिर हेरेर आशा मिश्रित स्वरमा भनी, यिनीहरू मेरा मुटुका धड्कन हुन् । यिनीहरूले मलाई राम्ररी चिनेका छन् । तपाईंको जाली कुरामा विश्वास गर्दैनन्, बुझ्नुभो ? तपाईँ त के स्वय म भगवान् आएर मलाई दोषी भने पनि यिनीहरू पत्याउँदैनन् ।
समाजले केही मानेगुनेका । लगभग आफ्नो खुट्टामा उभ्भिन सक्ने भएका शिक्षित सपनाका भाइबहिनी सपनाको कुरामा होइन महेशकै कुरामा विश्वास गर्छन् । सजना सपनालाई औँला ठडाउँदै भन्छे, दिदी, तिमीलाई पोइ नै चाहिएको भए उहिल्यै पोइल गएकी भए हुन्थ्यो । हामी कुल्ली काम गरेर खान्थ्यौँ तर हाम्रो इज्जतमा त दाग लाग्दैनथ्यो । भन, यो समाजलाई कसरी मुख देखाउने ?
सविन कुरा थप्छ, दिदी तिमीले त हामीलाई ज्यूँदै मार्यौ । तिमीजस्ती पतिङ्गरले बाँच्नुभन्दा मर्नु ठिक छ; जाऊ मर ।
महेशकाजी सपनाको घरमा आगो सल्काएर त्यहाँबाट हिँड्छन् ।
सपना भाइबहिनीका शब्दहरूले क्षतविक्षत हुन्छे । आफैँले आफैँलाई भुत्ल्याउँछे, आफैँलाई कोतर्छे । मानौँ पागलझैँ हुन्छे सपना । उसलाई झुन्डिएर मोरौ कि हाम फालेर मोरौझैँ हुन्छ । उसको मस्तिष्कले काम गर्न नै छोडेपछि भुइँमै डङ्ग्रङ्ङ पछारिँन्छे । सविन र सजना भोलि बदनाम हुनु साटो आज नै जिम्मा दिने सल्लाह गर्छन् । अचेत अवस्थामा नै सपनालाई घिच्याउँदै, मुन्ट्याउँदै लछार्दैपछार्दै महेशको घरमा पुर्याउँछन् । सपनालाई जिम्मा लिन दिव्यासँग आग्रह गर्छन् । सबै छिमेकीहरू आश्चर्यमा पर्दै सपनालाई हेर्दछन् ।
महेशकी श्रीमती दिव्यालाई सपनाको त्यो दुर्गति देखेपछि सहिनसक्नुहुन्छ । सपनाको बारेमा सबै सुनेपछि सपनालाई अङ्कमाल गर्दै भन्छिन् उनी, देख्यौ सपना यही हो यो स्वार्थी दुनियाँ । मैले विवाह गरभन्दा मानिनौ । तिमीले यी सापहरूलाई पाल्न आफ्नो यौवन मार्यौ । वासनामा भुलेर बाबुले कतव्र्य छोड्यो । तिमीले कर्तव्य निर्वाह गर्यौ । कैयौँ आसक्त मनलाई चकनाचुर पार्दै अनगिन्ती पीडा सह्यौ । यिनीहरूलाई पाल्यौपोस्यौ र हुर्कायौ । भन के पायौ तिमीले ?
दिव्या बोलेपछि सपनाको केही होश खुलेझैँ हुन्छ । दिव्या, सजना र सविनतिर हेर्दै पुनः कुरो थप्छिन्, ए नालीका कीराहरू, समाजले नै सीता भनेर पुजेकी सपनालाई तिमीहरूले वेश्याको आक्षेप लगायौ ? धिक्कार छ तिमीहरूजस्ता भाइबहिनीलाई, तिमीहरूलाई लक्ष्यमा पुर्याउनको लागि सपनाले कति त्याग गरिन् थाहा छ ? सम्पूर्ण आदर्शले पूर्ण राकेशको प्रेमलाई लत्याइदिइन् । सपना केवल तिमीहरूको लागि बाँचेकी थिइन् । तिमीहरूले स्त्रीलम्पट त्यो पापी महेशको बात लगायौ होइन, यस देवीलाई ? तिमीहरूको लागि अब सपना मरिन् ।
दिव्याको कुरा सुनेर सबै छिमेकीहरूको आँखाबाट आँसु झर्यो । सजना, सविनले पनि चित खाए । सबै छिमेकीहरू एकआपसमा कुरा गरे, यो कलिमा एउटी आमा आफ्नो स्वार्थको लागि दुई महिनाको बच्चा छोडेर पोइल जान्छे । विचरी सपनाले त भाइबहिनीको लागि डाक्टरजस्तोको प्रेम पनि लत्याएकिरहिछन् । त्यस्ती हीराको टुक्राजस्ती दिदीको पनि इलाम बजारभरि तमासा देखाए ।
दिव्याले सपनालाई काठमाडौँ ल्याउनको लागि बसपार्कतर्फ लागिन् । आफ्नो बचपनको प्यारो साथी राकेश अझै अविवाहित छ भन्ने सुनेर सपनाको मुटु भक्कानियो । तीसपैँतीस वर्षकी सपनालाई आफ्नो चालीस वर्षको फुपूको छोरासँग मिलाउन पाएकोमा दिव्या अति खुसी भइन् ।
सजना र सविनले सपनाको अगाडिपश्चात्ताप गरेर रुन नपाउँदै सपना सबैको आँखाबाट ओझेल भइन् । हो ओझेल...। -मझेरी
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६