बेनी नगरपालिका–२ बगरफाँटस्थित एक गन्धर्व सारंगीकाे धुनमा दुःख, पीडा, दुर्घटनालाई गीत बनाई गाउँदै । तस्बिरमा :ध्रुवसागर शर्मा/रासस
बागलुङ : चरीले रनवन डुलेझैँ भद्र र विष्णुबहादुर गन्धर्व गाउँघर डुल्छन् । लोकलयमा जनजीवनका सुखदुःख, संवेदना सुसेल्छन्, जसरी वनतिर चरी चिरबिर गर्छन् ।
यसपालि झरीले गन्धर्व जोडीको यात्रा छोटियो । चार दिनअघि बागलुङ नगरपालिका–१२, अमलाचौरस्थित घरबाट निस्केका उनीहरू बिहीबार घर फर्के । ‘घम्जा गाउँ गएका थियौँ’, भद्रले भने, ‘झरी पर्यो, धेरै नघुमी फर्कियौँ ।’
काठखोला गाउँपालिका–३ मा धम्जा गाउँ पर्छ । चिप्लो बाटो हुँदै झरी छलेर घरघर पुग्न गाह्रो भएको भद्रले सुनाए । घर फर्कनुपूर्व बागलुङ बजारमा भेटिएका उनले दिन घमाएपछि फेरि गाउँ जाने बताए । भद्र र विष्णुबहादुर छिमेकका दाजुभाइ पर्छन् ।
सारंगी रेट्दै जुन गाउँ पुग्दा पनि उनीहरूसँगै हुन्छन् । ‘सात वर्षको उमेरबाट सारंगी बजाउन सिकेको हुँ’, ५५ वर्षीय विष्णुबहादुरले भने, ‘हाम्रो खेती नै यही हो ।’ सानैमा बुबा बितेपछि मामाघर बसेका उनले मामा मतिलालसँग सारंगी सिकेको बताए ।
श्रीमती, एक छोरी र छोरासहितको परिवारको जीविका विष्णुबहादुरकै सारंगी बजाउने कलामा टिकेको छ । एक छोरीको बिहेबारी भइसकेको छ । ‘घरखर्च, छोराछोरीको पढाइ जेनतेन धानिन्छ’, विष्णुबहादुरले भने । खेतीपाती गर्न गन्धर्व परिवारलाई जग्गा अभाव छ ।
‘हाम्रो पुख्र्यौली चलन र पेसा नै यही हो’, ६२ वर्षीय भद्रबहादुरले भने, ‘वर्षभरि गाउँघर डुल्दै, गाउँदै जीवन चलेको छ ।’ गाउँघर पुग्दा गन्धर्वलाई अन्नपात र नगद दिने चलन छ । अन्न बोकेर हिँड्न गाह्रो भएपछि बढीजसो नगद दिन्छन् ।
‘लाहुरे आएको घर र दानी व्यक्तिले राम्रै पैसा दिन्छन्’, भद्रबहादुरले भने, ‘हप्ता दिन घुम्दा दुई, चार हजार हात पर्छ ।’ उनलाई पनि श्रीमती रम्बासहित एक छोरा र छोरीको जिम्मेवारी छ । दुई छोरीको बिहेबारी भइसकेको छ ।
अमलाचौरमा १८ गन्धर्व परिवार छन् । गन्धर्व बस्तीलाई गायकथर भनेर पनि चिनिन्छ । पुख्र्यौली गायन पेसा अँगालेका चार/पाँच जना मात्र छन् । गन्धर्व परिवारका अधिकांश युवा रोजगारीमा विदेश छन् ।
नयाँ पुस्तामा गायन र सारंगी वादनको सीप हस्तान्तरण हुन नसके गन्धर्व जातिको पेसा नै हराउने चिन्ता छ । आफ्ना १८ वर्षीय छोरा सन्दीपले सारंगीमा रुची नदेखाएको विष्णुबहादुरले बताए । ‘नयाँ युवालाई चासो नै छैन’, उनले भने ।
नेपाली मौलिक बाजा सारंगी नै लोप भएर जाने हो कि भन्ने चिन्ता गन्धर्व समुदायमा छ । समाज र जीवनका विविधतालाई शब्दमा टिपेर सारंगीमा लय भर्ने गन्धर्वहरूको कलागत पेसा जोगाउनु चुनौतीपूर्ण देखिन्छ ।
भद्र र विष्णुबहादुर सारंगी बजाउँदै बागलुङ, पर्वत र म्याग्दीको गाउँगाउँ पुग्छन् । सारंगी रेट्दै गाउँघर चहार्दाका तीतामिठा अनुभव उनीहरूसँग छन् । गाएरै जीविका धान्नेहरू अहिले पनि सारंगीलाई नै ‘खेती र जागिर’ मान्छन् ।
परिवार धान्ने आधार नै सारंगी बनेको छ । जीवन, जगत्, ईश्वरीय महिमा, युद्ध, प्राचीन कथा, घटना, दुर्घटना आदिलाई शब्दमा टिपेर सारंगीमा लयबद्ध गर्दै गन्धर्वहरू गाउने गर्छन् ।
घटना विशेषलाई कथानक बनाउने र त्यसलाई सारंगीको तालमा गाउने गन्धर्वहरूको विशेषता हो । यथार्थपरक र मार्मिक गीतहरूलाई ‘कर्खा’को रूपमा गाउने गर्छन् ।
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६