काठमाडौं : लोकसेवा आयोगद्वारा स्थानीय तहको कर्मचारी भर्नासम्बन्धी हालै प्रकाशित गरेको विज्ञापनमा समानुपातिक र समावेशिताको सिद्धान्तविपरीत भएको भन्दै विरोध भइरहेको छ । साथै राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलको भइरहेको छ । शुक्रबार बोलाइएको बैठक तीन पटकसम्म स्थगित भएको छ ।
तर शुक्रबार नै शिक्षक सेवा आयोगले प्रकाशन गरेको निम्नमाध्यमिक तहको पूर्वाञ्चल क्षेत्रको लिखित परीक्षाको नतिजा अनुसार समावेशीमा आवश्यकता अनुसार नाम ननिस्केको पाइएको छ । गणित विज्ञान विषयमा प्रकाशित विज्ञापन अनुसार विभिन्न समावेशी कोटामा आवश्यकता अनुसार नाम ननिस्केको हो ।
आयोगले गत असोज १२ गते लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशन गरेको छ । तर पूर्वाञ्चलमा महिलाका लागि १० जनाको कोटा कायम गरिएकामा एक जनाले मात्र लिखित परीक्षामा नाम निकाल्न सफल भएको पाइएको छ भने दलित तीन जनाको कोटामा दुई जनाको मात्र नाम निस्केको छ ।
यसअघि माध्यमिक तहको अन्तिम नतिजा प्रकाशन गरिसकेको शिक्षक सेवा आयोगले शुक्रबार निम्न माध्यमिक तहको नतिजा प्रकाशन गरेको हो ।
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६