काठमाडौं : महानगरभित्र ठूला रूख रोपेर हरियाली तथा सुन्दर बनाउने योजना आखिरी चरणमा पुगेको छ ।
नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन रूख रोप्न लागिएको हो । नेपाल पर्यटन वर्ष २०२० को सचिवालयका अनुसार काठमाडौंभित्र रोपिने २० हजार रूखको व्यवस्था भएको हो ।
काठमाडौं उपत्यकाका स्थानीय तहसँग समन्वय गरेर छिटै आवश्यकताका आधारमा रोपिने नेपाल पर्यटन वर्ष २०२० को सचिवालय प्रमुख सुरज वैद्यले बताए । उनका अनुसार मनसुन सुरु भएकाले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोप्न सुरु गर्ने तयारी छ भने काठमाडौं ललितपुर र भक्तपुर क्षेत्रभित्रका स्थानीय तहसँग कहाँ कति रोप्ने भन्ने विषयमा समन्वय भइरहेको छ ।
नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन काठमाडौंलाई हरियाली र सुन्दर नगरको रुपमा व्यवस्थित गर्न पाँचदेखि छ फिट उचाइका ठूला रूख रोप्ने योजना अनुसार काम सुरु गरिएको हो ।
भ्रमण वर्ष सफल बनाउन नेपालको ओझेलमा परेका तर महत्वपूर्ण गन्तव्यस्थलको पहिचान गरी विश्वभर प्रचार गर्ने काम तथा पूर्वाधार विकासको काम पनि भइरहेको नेपाल पर्यटन वर्ष २०२० को सचिवालयले जनाएको छ ।
सरकारले सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष–२०२० मनाउने घोषणा गरेको हो । यसअघि पनि सन् १९९८ र २०११ मा पर्यटन वर्ष मनाइएको थियो ।
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६