केदार मगर
खोटाङ : सगरमाथा राजमार्गको फोक्सिङटारस्थित सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएपछि खोटाङबाट तराईका जिल्ला आवतजावत गर्ने मुख्य नाका बन्द भएको छ ।
वर्षा सुरु भएसँगै नदीमा पानीको बहाव बढेपछि खोटाङ र उदयपुर जोड्ने सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएपछि तराईका जिल्ला जोड्ने नाका बन्द भएको हो ।
हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरिएको अस्थायी बेलिब्रिज निकालिएसँगै दिक्तेल–गाईघाटबीचको सिधा यातायात सम्पर्क छ महिनाका लागि बन्द भएको छ । फोक्सिङटारको बेलिब्रिज निकालिएपछि यातायातका साधन वारिको वारि र पारिको पारि भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।
गत मंसिरदेखि सञ्चालनमा ल्याइएको खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारको अस्थायी बेलिब्रिज गत सोमबार निकालिएपछि दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, विराटनगर लगायतका शहर जाने छोटो बाटो बन्द भएको छ ।
फोक्सिङटारमा पक्की पुल नभएपछि पूर्वी शहर जानआउन एक मात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने बाध्यता सुरु भएको छ । फोक्सिङटारमा पक्की पुल निर्माण नहुँदा विकल्पमा बेलिब्रिज राख्ने गरिएको हो । खोटाङ भित्रिदा वा बाहिरिदा फोक्सिङटारमा सुनकोसी र जयरामघाटमा दूधकोसी पार गर्नुपर्ने बाध्यता छ । बेलिब्रिज राख्ने र झिक्ने क्रममा वार्षिक रु ८० लाखको हाराहारीमा राज्यकोषको रकम खर्च हुँदै आएको छ ।
फोक्सिङ्टारको अस्थायी बेलिब्रिज हटाइएसँगै यातायातका सवारीसाधन आवतजावत नहुँदा जिल्लामा दैनिक उपभोग्यवस्तु ढुवानी तथा निर्माण सामग्रीको मूल्यमा समेत प्रत्यक्ष असर परेको छ । पूर्वी शहरबाट भित्रिने सिमेन्ट, रडजस्ता निर्माण सामग्री कटारी–घुर्मी हुँदै ल्याउनुपर्दा ढुवानी मूल्य वृद्धि भएको व्यापारीको भनाइ छ ।
गाईघाट हुँदै फोक्सिङटारबाट प्रतिकिलो साढे तीनदेखि चार रुपैयाँमा जिल्ला भित्रिने निर्माण सामग्री कटारी हुँदै जयरामघाटबाट भित्र्याउँदा प्रतिकिलो साढे पाँच रुपैयाँमा भित्रिने गरेको उद्योग वाणिज्य संघ खोटाङका महासचिव मनोज बजिमयले बताए । फोक्सिङटारमा पक्की पुल निर्माणको कामले अपेक्षित गति लिन नसक्दा विकल्पमा चार वर्षदेखि अस्थायी बेलिब्रिज राख्ने गरिएको हो ।
खोटाङको खोटेहाङ, जन्तेढुङ्गा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयवासीले समेत शहर जाने र उपभोग्य सामान ल्याउने क्रममा फोक्सिङटारको बेलिब्रिज प्रयोग गर्दै आएका छन् । निर्माण सम्पन्न गर्ने समय सकिँदा पनि फोक्सिङटारमा निर्माणाधी पक्की पुलको फाउण्डेसन मात्र तयार भएको छ । –रासस
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६