पाँचथर : सदरमुकाम फिदिम बजारको मेनरोडमा गत बिहीबार दिउँसो पाँचवटा वटा घरमा आगलागी हुँदा एक करोड ७१ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीबाट तीवनटा घरमा पूर्ण क्षति र अन्य दुई घरमा आंशिक क्षति भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले तयार पारेको प्रतिवेदनअनुसार इन्द्रकुमारी थापा मगरको काठ र टिनले बनेको दुई तले कच्ची घर र दुईतले पक्की घरको ३५ लाख क्षति भएको छ ।
उक्त घरमा सीता योङहाङले सञ्चालन गरेको सीता होटल र लजमा रहेका सम्पूर्ण सामग्री १६ लाख ३० हजार, त्यस्तै रणप्रसाद एकतेन लिम्बूको नगद, क्यामरा र महत्वपूर्ण कागजात जल्दा एक लाख ३५ हजार, इन्दु जबेगुले सञ्चालन गरेको स्मा स्टोर्सका सम्पूर्ण सामग्री १० लाख ५५ हजार र भीम केरुङ लत्ताकपडा लगायत सामग्री जलेर नष्ट हुँदा एक लाख क्षति भएको प्रहरीले जनाएको छ ।
विनाकुमारी थापा मगरको दुई तले काठ र टिनले बनेको कच्ची घरको २५ लाख क्षति भएको छ । सोही घरमा तरणीकुमार शाहले सञ्चालन गरेका मिष्ठान्न भण्डार र त्यहाँ रहेका सम्पूर्ण नगद, सुन चाँदीलगायत १९ लाख ३८ हजार, सोही घरमा सञ्चालनमा रहेको हरिप्रसाद भट्टराईको १० लाख बराबरको फलफूल पसल पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले उल्लेख गरेको छ ।
आगलागीबाट छेउमा रहेको सावित्रा योङहाङको घरको भित्ता र तेस्रो तलाको २५ लाख रूपैयाँ, सोही घरमा सञ्चालनमा रहेको पाँचथर गेस्ट हाउसको नौ वटा कोठामा रहेको सम्पूर्ण समानको १४ लाख ६० हजार रूपैयाँको क्षति भएको हो ।
आगलागीबाटै नरमाया कार्की ढकालको पक्की घर र घर अगाडि रहेको घुम्ती पसलको चार लाख ८० हजार, सोही घरमा रहेको एनएमबी बैंकको सिसिटिभिसहितको उपकरण एक लाख ५० हजार र घुम्तीमा गुलाव मोहम्मदले सञ्चालन गरेकोे कस्मेटिक पसलको सात लाख सात हजार रुपैयाँको क्षति भएको हो ।
बिहीबार दिउँसो १ बजेतिर लागेको आगो नगरपालिकाको बारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको प्रयासमा करिब डेढ घण्टामा नियन्त्रणमा लिइएको थियो । –रासस
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६