विराटनगर : मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ स्थित नवनिर्मित बसपार्क छेउमा गत चैत्र २५ गते एक नवजात शिशु फेला पर्यो । बसपार्क छेऊमा रहेको मावाखोला किनारको काँसघारीमा बेवारिसे अवस्थामा फेला परेको शिशु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे ।
स्थानीयको खबरबाट तत्कालै घटनास्थल पुगेको प्रहरीको टोलीले बेवारिसे शिशुको उद्धार गर्यो र स्थानीय गोदावारी हस्पिटलमा उपचारका लागि पठायो । तर सो शिशुको अभिभावक को हो भन्ने कुरा भने अन्यौलमा नै रह्यो । प्रहरीले शिशुलाई जन्म दिने आमाको खोजीलाई नै पहिलो प्राथमिकतामा राख्यो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले बेवारिसे शिशु जन्माएर काँसघारीमा फाल्ने महिलाको पहिचान गर्न सफल पनि भयो । ती महिला थिइन्, इलाम जिल्ला माङसेबुङ गाउँपालिका ६ स्थायी घर भई उर्लाबारी–६ पानीटंकीस्थित अमृत तामाङको घरमा डेरा गरी बस्ने माया राई थिइन् । अन्दाजी ३० वर्षीया माया विवाहित महिला नै थिइन् । उनी श्रीमान्सँग सम्बन्धबिच्छेद गरेर एक्लै बस्दै आएकी थिइन् । तर उनी सम्बन्धबिच्छेदपश्चात एक युवकसँग प्रेम सम्बन्धमा थिइन् ।
बेवारिसे शिशुको उर्लाबारीको गोदावरी अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगरको नोबेल अस्तालमा थप उपचारका लागि ल्याइयो । छोरा जन्माएर काँसघारीमा फ्यालेर बेपत्ता भएकी मायाले आफूलाई प्रहरीले खोजी गरेको थाहा पाइन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डिएसपी घनश्याम श्रेष्ठले बच्चा जिउँदै भएको थाहा पाएपछि उनी नोबेल अस्पतालसम्म पुगेको बताए । तर चैत २८ गते बिहान नवजात शिशुको उपचारको क्रममा मृत्यु भएपछि माया अस्पताल परिसरबाटै पुनः बेपत्ता भइन् ।
प्रहरीले बच्चाको मृत्यु भएपछि कानुनी प्रक्रियालाई अघि बढायो । वैशाख २ गते माया विरुद्ध मुलुकी फौजदारी कायविधि ऐन २०७४ अनुसार अदालतका मुद्धा दर्ता भयो । तर माया पक्राउ परिनन् ।
कहिले झापाको रतुवाखोलाको किनारमा रहेको सुकुम्बासी टोलमा त कहिले उर्लाबारी मै स्थान परिवर्तन गर्दै लुकेर बस्दै आएकी माया अन्तत शुक्रबार उर्लाबारीको हाटखोलास्थित शुक्रबारे बजारबाट प्रहरीको फन्दामा परिन् ।
प्रहरीका अनुसार श्रीमानसँग सम्बन्धबिच्छेद भएपश्चात उनी गत वर्ष असारमा काठमाण्डौ गएकी थिएन् । काठमाण्डौमा हुँदा एक ब्याक्तिसँग प्रेम सम्बन्धमा जोडिएकी उनले उनैसँग विवाहसमेत गरेकी थिइन् । उनीसँग को युवकको प्रेम थियो,त्यो भने प्रहरीले खुलाएको छैन । प्रहरीलेसो बिषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६