काठमाडौं : उपत्यकामा सवारी दुर्घटनाका कारण दुई सय २२ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको हालसम्ममा २२२ जनाको मृत्यु भएको हो । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म दुई सय ११ र जेठ महिनामा मात्र ११ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । मृत्यु हुनेमा एक सय ७७ पुरुष र ४५ महिला रहेका छन् ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गति र चालकको लापरवाहीका सवारी दुर्घटनामा धेरै मानिसको ज्यान जाने गरको बताउनुभयो । फराकिलो बाटो र तीव्र गतिका कारण धेरै मानिसको सवारी दुर्घटनामा ज्यान गएको छ, –उनले भने ।
सवारी दुर्घटनामा ज्यान गएकामध्ये अधिकांश मोटरसाइकलमा सवार रहेको महाशाखाले जनाएको छ । चालू आर्थिक वर्षमा मोटरसाइकल तथा स्कुटर ९९, पैदलयात्रु ७१, कार १६, ट्रक १६, बस आठ, साइकल चार र एउटा माइक्रो दुर्घटनामा परेका छन् ।
उपत्यकामा आर्थिक वर्ष २०७४/७५ मा १९४ र आर्थिक वर्ष २०७३/७४ मा १८२ जनाको सवारी दुर्घटनामा परी ज्यान गुमेको थियो ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख र काठमाडौँ उपत्यकामा मात्र ९ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६