सल्लेरी : थुलुङ दुधकोसी गाउँपालिका ६ सोलुखुम्बूका भीमबहादुर राई अहिले ८३ वर्ष पुगे । तर जोस र जाँगर भने १८ वर्षे युवाको जस्तो छ । उनलाई चस्मा लगाएर हिँड्न साह्रै मन लाग्छ रे । खानामा दाल, भात, दही, दूध, घ्यू खाने गर्छन् रे उनी ।
बर्मामा जन्मिएका उनी सात वर्षको उमेर हुँदा नेपाल आएका थिए । नेपाल फर्कने क्रममा बाटोमा भाइ मरेको रे भनेर सुनाउँँछन् उनी । तर उनलाई यकीन छैन, भाइ मरेको हो कि होइन भनेर । उनी भन्छन्, ‘भोकमरी थियो, भोकले मर्यो कि, कसैले लग्यो थाहा छैन ।’
नेपाल आएपछि घरमा नै केही वर्ष काम गरेर बिताए उनले । १५ वर्ष उमेरको हुँदा मलाया लाहुरेमा भर्ती भए । उनी भन्छन्, ‘बुबा समसेरजंग सारै छुच्चो हुनुहुन्थ्यो, आमाको नाम थाहा छैन । म बर्मामा हुँदा नै बुबाआमा छुट्टिएका हुन् ।’
रहरले पल्टन गए पनि ट्रेनिङमा सारै गाह्रो भएको अनुभव सुनाउँछन् । तर त्यो समयमा सबैजना भर्ती जाने गर्दथे । त्यसैले करले भए पनि बडो कष्टका साथ तालिम गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘हाईजम्प, लङजम्प, परेड खेल्नुपथ्र्यो । दुस्मनबाट बच्न र बचाउनका लागि बेलुका कहिले ६ कहिले १२ घण्टा ड्युटी बस्नुपथ्र्यो । कहिलेकाँही त रातभर नसुती नै ड्युटी बस्नुपथ्र्यो ।’
पहिलेको समयमा खानेकुराको कमी थियो । ड्युटीको बेला आफ्नै अगाडि कति साथिहरू भोकले मरेको उनी बताउँछन् । उनी भन्छन्, ‘हामी हिँड्दाहिँड्दै कति मान्छेहरू मरिरहेका हुन्थे, वास्ता नै हुन्नथ्यो । अहिले कहिलेकाहीँ सम्झने गर्छु । आङ जिरिंग हुन्छ । तर म मरिनँ, भाग्यमानी रहेछु, अहिलेसम्म बाँचिरहेको छु । ढुंगामुढा जस्तै मान्छेहरू मरेर गएका थिए, त्यतिबेला अहिलेको जस्तो मनपरी खानेकुरा थिएन ।’
आफ्नो पालोमा गाउँमा स्कूल नभएर नपढेको बताउने उनी पल्टनमा दुई कक्षासम्म रोमन गोर्खाली पढेकोे सुनाउँछन् । अंग्रेजी भाषा केही मात्रामा बुझे पनि अहिले बुढो हुँदै गएकाले बिर्सिंदै गएको उनले बताए ।
१० वर्ष पल्टनमा बसेर पेन्सन पाकिसकेपछि घर फर्किए । उनी भन्छन्, ‘मेरो फस्र्ट सेभेन जीआर पल्टन हो । म राइफलम्यान थिएँ । डिस नम्बर २११४९५९४ हो ।’ (यो नम्बर भएपछि नम्बरको आधारले मान्छे कहाँ छ, अर्थात् मान्छे जिउँदो छ कि मरेको छ भन्ने कुरा थाहा हुन्छ रे ।)
आफ्नो पालामा नोटको चलन नभएको उनी बताउँछन् । १६ रूपैयाँ बोकेर भर्ती हुन गएका भीमबहादुरले पहिलोपटक पेन्सन लिन जाँदा चार सय रूपैयाँ लिएर आएको बताउँछन् । उनी भन्छन्, ‘त्यो समयमा एक रूपैयाँमा दुई पाथी मकै आउँथ्यो । अहिले एक रूपैयाँको निशाना नै छैन । यो समयमा सय रूपैयाँको त मान्यता हुँदैन के एक रूपैयाँको कुरा गर्नु ! समय पनि यसरी बदलिने रहेछ ।’
पहिलाको समयमा पाथीमा राखेर पैसा भर्ने चलन रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘पाथीमा एक झुसी बराबर एक हजार रूपैयाँ हुन्थ्यो । अहिले त गनिन्छ । पहिला साह्रै लाटो समय थियो, अहिले बैंकमा जम्मा गर्ने चलन आयो ।’
पल्टनबाट फर्किंदा धरानमा पाँच रूपैयाँको नोट पहिलोपल्ट बाटोमा भेटेका थिए रे । पछि पेन्सन लिन जाँदा पनि १० रूपैयाँको मात्र नोट चल्तीमा रहेको उनी बताउँछन् । पेन्सन लिनका लागि १० वर्षसम्म धरानसम्म धाएको बताउने राई अहिले गाउँमा नै आएको लक्ष्मी बैंकबाट पैसा लिने गरेको बताउँछन् ।
घरनजिकै रहेको बैंकबाट पैसा लिन पाउँदा खुसी भएको उनको अनुभव छ । त्यही भएर पैसा जम्मा गर्न अथवा कतै पठाउन सहज भएको सुनाउँछन् । उनी भन्छन्, ‘टाढा जानुपर्ने बाध्यता हटेको छ, साह्रै राम्रो भयो ।’
पल्टनबाट गाउँ आएपछि गाउँका मानिसहरूलाई गानोगोला, ज्वरो, झाडापखाला लगायतका आयुर्वेदिक औषधिहरू बेच्ने गर्दथे उनी । पछि मानिसहरू स्वास्थ्यचौकी जान थालेपछि औषधि बेच्न छाडेको उनी बताउँछन् । गाउँमा पहिले गाडी नआउँदा घोडाबाट विभिन्न ठाउँ जाने गर्थे । तर अहिले गाडी चल्न थालेपछि घोडा पनि बेचेको उनले सुनाए ।
उहिले गाउँ पातलो थियो, अहिले जनसंख्या बढेर गाउँमा घरहरू पनि टन्नै बनेका छन् । गाउँमा सडक छ, कहीँकतै जानुपर्यो भने सहजता भएको उनको बुझाइ छ । २५ वर्षको उमेरमा बिहे गरेको उनका छ सन्तान छन् । आफ्नो चार पुस्ता नै लाहुरे भएको उनी बताउँछन् । बाजे, बुबा, आफू र छोरासमेत लाहुरे भएका रहेछन् ।
उनी भन्छन्, ‘सँगसँगै पल्टन गएका मेरा नम्बरीहरू मरे कि छन् थाहा छैन, तर म चाँहि अझै बाँचिरहेको छु । अझै कोही नम्बरीहरू बाँचेका छन् भने मेरो सल्युट छ ।’
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६