ओखलढुंगा : धारामा लेदो पानी आएपछि ओखलढुंगा सदरमुकाममा खानेपानी सङ्कट उत्पन्न भएको छ । ओखलढुंगा खानेपानी उपभोक्ता समितिद्वारा वितरित पानी तीन दिनदेखि धमिलो लेदोसहित आएपछि सदरमुकाममा खानेपानीको समस्या भएको हो ।
बुधबार बिहानदेखि धारामा निरन्तर धमिलो प्रदूषित पानी आएकाले पिउने पानी नभएको सदरमुकाममा कोठा भाडामा लिएर बसेकी रविना सुनुवारले बताइन् । एकदमै फोहर, माटैमाटो लेदो हेर्दै घिनलाग्दो पानी आउँछ धारामा खाना त बाहिर गएर खाइयो । पिउने पनि पानी छैन । रविना जस्तै सदरमुकामका स्थानीय तथा कोठा भाडामा लिएर बसेका समस्यामा छन् ।
धारामा धमिलो पानी आएपछि होटल व्यवसायी त्यसको मारमा परेका छन् । पानी अभावका कारण व्यवसाय सञ्चालनमा समस्या भएको रोज रेस्टुरेन्टका सञ्चालक गोपाल बज्राचार्यले बताए । ग्राहकको मागअनुसार पानीसमेत उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।
मिनिरल वाटरले व्यवसाय धान्नुपर्ने अवस्था आयो , बज्राचार्यले भने, ग्राहक तातोपानी माग्छन् मिनिरल वाटर तताएर दिने कुरा भएन । पानी छैन हजुर भनेर टार्नुपरेको छ । सर्वसाधारण पनि केही दिनअघि थापेको पानी र मिनिरल वाटरको भरमा छन् ।
पानीको मुहानमा भल पसेकाले समस्या भएको खानेपानी उपभोक्ता समितिका सचिव रुपेश शाक्य बताउँछन् । मुहान र ट्याङ्की सरसफाइ गरेर सफा खानेपानी उपभोक्तालाई उपलब्ध गराउन आफूहरु लागिरहेको उनको भनाइ छ । अव्यवस्थित मुहान र वितरण प्रभावकारी नहुँदा ओखलढुंगा सदरमुकाममा खानेपानीको समस्या बढ्दै गएको छ । -रासस
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६