काठमाडाैं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको साथमा रहेको भोटो देखाउने दिन जेठ २६ गते आइतबार परेको छ ।
आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
ललितपुरको ठटीमा २० दिन विश्राम गराएर रथलाई बिहीबार कुमारीपाटी हुँदै सोझै जावलाखेल ल्याइयो । रथ जावलाखेल आइपुगेको तीन दिनपछि भोटो देखाउने प्रचलन छ ।
गत जेठ ९ गते ज्योतिषीले ठटीबाट जावलाखेल लाने साइत निकालेका थिए । वैशाख २५ गते पुल्चोकबाट रथयात्रा सुरु भएर गावहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिचोक हुँदै जेठ ३ गते महिलाले रथ तानेर ठटी ल्याएका थिए ।
गुठी संस्थान पाटन शाखा प्रमुख शैलेन्द्र पौडेलका अनुसार रथमा तान कस्ने र धुपी हाल्ने काम सम्पन्न गरेर रथ जावलाखेलतर्फ लगिएको थियो ।
जावलाखेलमा रथ आइपुग्दा जावलाखेल जात्रा व्यवस्थापन समितिका संयोजक बालकृष्ण महर्जनसहितको जात्रालुले रथलाई पश्चिमाभिमुख गरेर व्यवस्थित राखेको थियो । भोटो देखाउने दिन राष्ट्र प्रमुखले जावलाखेल डवलीबाट पूर्वाभिमुख भई भोटा अवलोकन गर्ने प्रचलन छ ।
कहिलेदेखि देखाइयाे भोटो ?
भोटोजात्रा कसले र कहिलेदखि चलाएको हो भन्ने अभिलेख प्राप्त भएको छैन । यस विषयमा काठमाडौका पुराना फोटोग्राफर बखतबहादुर चित्रकारले यस्ताे लेखेका छन्ः-
जनश्रुतिअनुसार कर्कोटक नाग राजाको नागिनीलाई आँखाको रोग लागेछ । अनेक औषधि गर्दा पनि निको पार्न सकिएन । त्यसपछि वैद्य खोज्न कर्कोटक नागराजा पोखरीबाट निस्केर मान्छेको रूपमा वैद्य खोज्न थालेछन् । एक जना किसान खेतमा काम गर्दै थिए । मान्छेरूपी कर्कोटक नागराजाले किसानसँग सोधे, ‘आबाजुलाई औषधि गर्न आउँछजस्तो छ । नढाँटी भन्नुहोस् । ’
‘अलि अलि मात्र आउँछ’, किसानले भन्यो ।
नागराजाले भने, ‘मेरी श्रीमतीको आँखा दुखेको निको पारिदिनुहोस् ।’ त्यसपछि नागराजाले किसानलाई सँगै लगे र पोखरीको डिलमा पुगेपछि किसानलाई अनुरोध गरे, ‘वैद्य आबाजु मेरो हात समात्नू र एकछिन आँखा बन्द गर्नुस् ।’
एकछिनमै उनीहरू नागराजाको दरबार पुगे । भव्य दरबारमा पुगेपछि वैद्य आबाजु छक्क परेछन् । नागराजाले श्रीमतीलाई डाके । वैद्य आबाजुको मुटु काम्न थाल्यो । श्रीबुंगमलोकेश्वरको नाम जपेर अनुहारको पसिना पुछ्दै नागिनीको आँखामा छर्केर ईश्वरको नाम जप्न थाले । एक घण्टापछि नागिनीको दुखेको आँखा निको भयो । नागले खुसी भएर वैद्य आबाजुलाई आफ्नो चिन्तामणि भोटो उपहार दिएर भने, ‘यो भोटो कसैलाई नदिनू, भुइँमा पनि नराख्नू । वैद्य आबाजुको सधैँ भलो हुन्छ । अब फेरि एकचोटि आँखा बन्द गर्नुहोस् ।’
वैद्य आबाजुले आखा बन्द गरे र एकछिनमा पोखरीको डिलमा पुगे अनि भोटो लाउँदै, सामान बोक्दै घरतिर हिँडे । अर्को दिन किसान फेरि खेतमा काम गर्न थाले । गर्मी भएर भोटो फुकाली ड्याङमा राखेर काम गर्न थालेछन् । त्यसैबेला त्यो भोटो लाएर भूत हिँडेछ । भोटो कसले चोरेर लगेछ भनी दिक्क भई किसान घर फर्किए ।
एक दिन मच्छिन्द्रनाथको जात्रा हेर्न किसान जावलाखेल पुगेछ । भूत पनि भोटो लाउँदै जात्रा हेर्न त्यहीँ आइपुगेको थियो । किसानले आफ्नो भोटो देखेपछि उसलाई समायो । दुबैजना भोटो आफ्नो हो भन्न थाले । त्यसपछि दुबै राजाकहाँ पुगे । राजाले भने, ‘मेरै हो भन्ने प्रमाण देखाऊ ।’
अब दुबै चुप लागे । राजाले फेरि भने, ‘जो प्रमाण लिएर आउँछ उसैले भोटो पाउँछ । यो भोटो करुणामयलाई जिम्मा दिन्छु । वर्षको एकचोटि यो भोटो देखाइने छ ।’
भोटो देखाउने जात्रा नेपालको गरिमामय जात्रा हो । भोटोजात्रा पहिले पाञ्जु खलकका मुख्य नायकले देखाउने गर्थे । पञ्चायतकालमा गुठी संस्थानको स्थापना भएपछि गुठी संस्थानले भोटो देखाउने व्यवस्था गर्दै आएको छ ।
ललितपुरमा बुंगमलोश्वरको रथ बनाउने ठाउँको नाउँ हो पुल्चोक । काठ र बेतबाट मात्र रथ तयार गरिन्छ । यो रथ ६० देखि ७० फिट अग्लो हुन्छ । रथमा काठमा ठूलाठूला चार पांग्रा हुन्छन् । यिनलाई चार भैरवको प्रतीक मानिन्छ । तान्नलाई डोरी राख्ने लामो धःमा बनाइन्छ । यो एउटै रुखको ३२ हात लामो हुन्छ । यसलाई कर्कोटक नागराजा भनिन्छ ।
वैशाख शुक्ल प्रतिपदाको दिन तःबाहाल मन्दिरबाट मच्छिन्द्रनाथलाई खटमा राखिन्छ । बाजागाजासहित जात्रा गरेर पुल्चोक पुर्याई त्यसलाई रथमा प्रतिस्थापन गर्ने चलन छ । चार दिनपछि अर्थात् चतुर्थीका दिन विधिपूर्वक पूजा हुन्छ । पूजा सकेपछि रथ तानेर गाःबहालमा पुर्याइन्छ । यसलाई गाःबाहाल इलाकाको छोयलाभू भनिन्छ । भोलिपल्ट भुज्याजात्रा मनाइन्छ । यो बुंगमलोकेश्वरको रथजात्राको पहिलो जात्रा हो ।
गाःबाहालबाट रथ तानेर नुगलटोलमा पुर्याउने र त्यस दिन नुगल इलाकाले छोयलाभू मनाउँछ । भोलिपल्ट भुज्याजात्रा मनाइन्छ । यो बुंगमलोकेश्वरको रथजात्राको दोस्रो जात्रा हो । अनि सुन्धाराबाट लगनखेलतिर रथ तानेर लगिन्छ । लगनखेल माईथान दुईपटक घुमाएर रथ त्यही राखिन्छ । भोलिपल्ट देशबलि पूजा गरिन्छ । त्यसको भोलिपल्ट लगनखेल माईथानबाट रथ तानेर ठटीटोलमा पुर्याएपछि लगनखेल इलाकाले छायलाभू मनाउँछ । उनीहरू भोलिपल्ट भुज्याजात्रा मनाउँछन् । दिउँसोतिर रथबाट नरिवल खसाल्ने काम हुन्छ । यसलाई बुंगमलोकेश्वरको रथजात्राको तेस्रो जात्रा भनिन्छ ।
यसपछि नानीचा याः भनेर महिलाले मात्र तान्ने र रथ ठटीटोलको चारबाटोमा पुर्याइन्छ । लगनखेलबाट जावलाखेलमा रथ तानेर लान साइत हेर्ने गरिन्छ । मंगल बजारका मणिमण्डपपाटीमा राजदैवज्ञहरूले साइत हेर्ने गर्छन् । साइतअनुसार नै लगनखेल ठटीबाट बुंगमलोकेश्वरको रथ तानेर जावलाखेल पुर्याइन्छ । भोलिपल्ट दिनरात विभिन्न किसिमको पूजा गरिन्छ । अनि ज्यावल भुज्या मनाइन्छ । दिउँसो भोटोजात्रा भनी बुंगमलोकेश्वर अर्थात् मच्छिन्द्रनाथको रथबाट भोटो देखाउने जात्रा हुन्छ । जात्रा सकिएपछि बुंगमलोकेश्वरलाई रथबाट ल्याएर खटमा राख्ने गरिन्छ र बाजागाजासहित बुंगमती लाने परम्परा छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६