भरतपुर : चितवन जिल्लाको माडीमा चक्लाबन्दी खेती सुरु गरिएको छ ।
प्रदेश नं ३ सरकारको सहयोगमा माडी नगरपालिका–८ कान्तिपुरमा रहेको सूर्योदय सहकारी संस्थाले किसानको जग्गा एकीकरण गरी चक्लाबन्दी खेती सुरु गरेको हो ।
संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलका अनुसार ६८ जना कृषकको १२० बिगाहा जमिनमा चक्लाबन्दी खेती सुरु गरिएको छ । कृषकलाई वार्षिक रुपमा एक कट्ठा जग्गाको एक मुरी धान दिने गरी १५ वर्षका लागि भाडामा लिएर सो खेती सुरु गरिएको हो । पौडेलले आम्दानीपछि बचत भएको रकमसमेत उनीहरुलाई पनि शेयर सदस्य बनाएर वितरण गरिने जानकारी दिए ।
चक्लाबन्दी खेतीका लागि जमिन मिलाएर धानको बीउ राख्न सुरु गरिएको छ । पौडेलले आज दुई क्विन्टल राधा ४ जातको धानको बीउ राखिएको बताए । सहकारीले बीउ राख्नका लागि राधा ४ र सावित्रीको १०/१० क्विन्टल खरिद गरिसकेको छ । केही दिनभित्र बीउ राखिसक्ने जनाइएको छ ।
धान लगाइने जमिनमा यसपछि गहुँ र मकै लगाइँदै छ । सोही क्षेत्रमा चार कट्ठा दस धुर जग्गामा तरकारी खेतीका लागि ग्रिन हाउस निर्माण गरिँदै छ ।
कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठका अनुसार यस प्रदेशको चितवनको माडी र सिन्धुलीको दुधौलीमा चक्लाबन्दी खेती सुरु गरिएको हो । प्रदेश सरकारले ज्ञान केन्द्रमार्फत जमिन चक्लाबन्दी गर्न २५ लाख, विभिन्न कृषि औजार खरिद गर्न ६५ लाख, सहकारी खेती शीर्षकमा ६ लाख अनुदान दिने श्रेष्ठले जानकारी दिए । यससँगै ग्रिन हाउस निर्माणका लागि कन्दमूल तरकारी विकास केन्द्र सिन्धुलीले २५ लाख उपलब्ध गराउने श्रेष्ठले बताए ।
चक्लाबन्दी खेती गर्दा मेसिनरी उपकरण प्रयोग गरेर ठूला गरामा आधुनिक खेती गरिन्छ । जसले लागत मूल्य घटाउने श्रेष्ठको भनाइ छ । सो क्षेत्रमा प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले दुई पटक पुगेर कृषकलाई उत्साहसमेत थपेका स्थानीयवासीले जनाएका छन् । कृषकलाई गोलबन्द गर्दै सहकारीलाई विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ ।
केही महिनाअघि ३० जना सदस्यबाट दर्ता भएको सहकारीमा जग्गाधनीलाई समेत सदस्य बनाइनेछ । माडी नगरपालिका–८ का अध्यक्ष कृष्णराज अधिकारीले कृषकका जमिनलाई चक्लाबन्दी गरी खेती गर्दा कम खर्चमा धेरै उत्पादन गर्न सकिने बताए ।
माडी नगरपालिकाले समेत तरकारी खेतीका लागि रु पाँच लाख दिने आश्वासन दिएको संस्थाका अध्यक्ष पौडेलले बताए । नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले प्रदेश सरकारको यस कार्यक्रममा आवश्यक सहयोग नगरपालिकाबाट हुने बताए । माडी नगरपालिका उर्वर ठाउँ भएकाले चक्लाबन्दी खेती सुरु भएसँगै यसले अन्य कृषकलाई पनि ज्ञान र सीप आदानप्रदानमा सहयोग पुग्ने ढकालको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६