परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको यहाँ निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन् ।
निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् भने विद्युत्गृह, हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्यसमेत तीन दिनदेखि बन्द गराएका छन् । आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेको थियो ।
निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनामा कार्यरत कामदारले स्वतः स्थायी गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई नै स्थायी रोजगारीको व्यवस्था हुनुपर्ने र विद्युत्गृहलगायतका संरचना निर्माणमा पछिल्लो समय राखिएका कर्मचारी र कामदारलाई स्थायी गर्न नपाउने आयोजनासँग माग राखेका छन् । आयोजनामा कार्यरत ४० कर्मचारीले यही जेठ २० देखि काम बन्द गराएपछि निर्माणकार्य प्रभावित भएको छ ।
हामी शुरुदेखि निर्माणकार्यमा कार्यरत कर्मचारीलाई थाहै नदिइ बाहिरबाट कर्मचारी राख्ने काम भएको छ , कर्मचारी सौरभ पौडेलले भने, हामीलाई स्थायी गर्ने कुरा पटक–पटक झुटो आश्वासन दिएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको हो । कर्मचारीले यसअघि यही जेठको ८ देखि १२ गतेसम्म पनि तालाबन्दी र काम ठप्प पारेका थिए । तर, तालाबन्दीपछि २० गते समस्या समाधान गर्ने सहमति गरे पनि कार्यान्वयन नहुने स्थिति देखएपछि पुनः तालाबन्दी गरेको उनले बताए ।
आयोजनाले भने कुनै पनि कर्मचारीलाई स्थायी नगरिएको र विद्युत् उत्पादन थालिएपछि प्रक्रिया पूरा गरेर मात्रै स्थायी गर्ने योजना रहेको जनाएको छ । आयोजना प्रमुख पवनकुमार यादवका अनुसार अहिले परीक्षण उत्पादनको तयारीमा रहेका बेला केही दक्ष कर्मचारीलाई सहयोगीका रुपमा राखेर काम गराइएको तर स्थायी गरिएको छैन । हामीले कसैलाई पनि स्थायी गरेका छैनाँै , आयोजना प्रमुख यादवले भने, विद्युत् उत्पादनपछि नयाँ विज्ञापन गरेर स्थायी गर्ने प्रक्रिया शुरु गर्छाैँ । अहिले कार्यरत कर्मचारीलाई नै प्रक्रियामा पनि प्राथमिकता दिने आयोजनाको उद्देश्य रहेको उनको भनाइ छ ।
निजी क्षेत्रको मोर्दी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ । वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट चुहिएपछि मर्मतको काम भइरहेको छ । कुश्मा नगरपालिका–७ चुवाको परादीस्थित पावरहाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको चार हजार २०० मिटर लामो टनेलको बीचबीचमा कमजोर भू–भाग भेटिएको थियो ।
तालाबन्दीका कारण मर्मतको काम रोकिएको छ । हेडबक्समा ढोका मर्मत गर्ने र परीक्षण गर्ने काम चलेको थियो भने विद्युत्गृहमा जेनेरेटरलगायतका सामग्री जडान र परीक्षणकै क्रममा थिए । कर्मचारीको आन्दोलनका कारण परीक्षण उत्पादन झन् ढिलाइ भएको आयोजना प्रमुख यादवले बताए ।
विसं २०६९ साउनमा निर्माण शुरु गरिएको आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६