एकदिवसिय विश्वकप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार राती सम्पन्न खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजमाथि १५ रनको रोमान्चक जित हात पारेको हो । २ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ७३ रन बनायो । वेस्ट इन्डिजले पहिलो विकेटका रुपमा दोस्रो ओभरको चौथो बलमा ओपनर ईभिन लुईसलाई १ रनमा गुमाएको थियो । पाँचौ ओभरको पाँचौ बलमा मिचेल स्टार्कले क्रिस गेललाई २१ रनमा एलवीडब्लू आउट गर्दै पेभिलिएन फर्काए ।
तेस्रो विकेटका लागि शाई होप र निकोलस पुरनले ६८ रनको साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए । २० ओभरको पहिलो बलमा एडम जम्पाले पुनरलाई कप्तान आरोन फिन्चबाट ४० रनमा क्याच आउट गराएपछि दबाबमा पारेकाे हाे । २८ औं ओभरमा शिम्रन हिटमायर २१ रनमा रन आउट भए ।
३५ ओभरको अन्तिम बलमा प्याट कमिन्सले ओपनर शाई होपलाई उस्मान खवाजाबाट १ सय ५ बलमा ६८ रनमा क्याच आउट गराए । आन्द्रे रसेल ११ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ठूलो शट खेल्ने धुनमा ३९ ओभरको पाँचौ बलमा क्याच आउट भए ।
मिचेल स्टार्कको ४६ ओभरको तेस्रो बलमा ठूलो शट खेल्ने धुनमा कार्लेस वर्थवेट फिन्चबाट १६ रनमा आउट भए । स्टार्कलेनै यसै ओभरको अन्तिम बलमा जम्पाद्धारा कप्तान जोसन होल्डरलाई ५१ रनमा क्याच आउट गराएपछि अष्ट्रेलियाको जित लगभग पक्का बनेकोे थियो ।
स्टार्कलेनै शिल्डन कोर्टेललाई ४७.३ ओभरमा १ रनमा बोल्ड आउट गरे । एलशे नर्श १८ बलमा ४ चौका सहित १९ रनमा अविजित रहे । अष्ट्रेलियाको जितमा मिचेल स्टार्कले १० ओभरमा १ मेडन सहित ४६ रन खर्चेर ५ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९ ओभरमा अल आउट हुँदै २ सय ८ ८ रन बनाएको थियो । अष्ट्रेलियाका लागि अलराउण्डर नाथन कुल्टर नाईलले तल्लोक्रममा उत्कृष्ट ब्याटिङगर्दै ९२ रनको महत्वपूर्ण योगदान दिए । कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई बलियो लक्ष्य सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेको नाईलले ६० बलमा ८ चौका र ४ छक्का प्रहार गरे । ४९ ओभरको दोस्रो बलमा ठूलो शट खेल्ने धुनमा बाउन्डी लाईन नजिकै जोसन होल्डरले क्याच लिएपछि उनि शतक बनाउन ८ रनले चुके ।
त्यस्तै पुर्व कप्तान स्टिभ स्मिथले ७३ रनको महत्वपूर्ण योगदान दिदै बलियो प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याउन सफल भए । ओशन थोमसको ४४.२ ओभरमा बाउन्डी लाईनमा शिल्डन कोर्टेलले एक हातले अविश्वसिनय क्याच लिनु अघि स्मिथले १ सय ३ बलमा ७ चौका प्रहार गरे ।
कमजोर अवस्थामा पुगेको अष्टेलियालाई सातौ विकेटका लागि स्मिथ र नाईलले १ सय २ रनको शतकीय साझेदारी गरेसँगै बलियो अवस्थामा पुगेको थियो ।
वेस्ट इन्डिजका लागि कार्लोस बर्थवेटले सर्वाधिक ३ विकेट लिए । ओशन थोमस,शिल्डन कोर्टेल र आन्द्रे रसेलले समान २ विकेट लिए । कप्तान जोसन होल्डरलेएक विकेट लिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६