काठमाडाैं : कर्णाली सरकारले दुई वर्षभित्र प्रदेशलाई साक्षर गर्ने नीति लिएको छ । बुधबार कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले अगामी आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशलाई दुई वर्षभित्र साक्षर बनाउने लक्ष्य लिएको बताएका हुन् ।
नेपाल सरकारको नीति तथा कार्यक्रमलाई अवलम्बन गर्दै कर्णाली प्रदेशले पनि दुई वर्षभित्र प्रदेशलाई साक्षर घोषणा गर्ने नीति प्रस्तुत गरेको हो । तर कर्णाली प्रदेशका लागि भने यो अभियान चुनौतीपूर्ण देखिन्छ ।
नेपाल सरकारले दुई अर्बभन्दा बढी बजेट विनियोजन गरेर २०६७ सालभित्रै साक्षर नेपाल घोषणा गर्ने अभियान चलाइए पनि अहिले १० वर्ष बितिसक्दा पनि त्यो अभियान पूरा हुन सकेन । त्यही अभियानलाई सिको गर्दै कर्णाली प्रदेशले पनि अभियान ल्याएको छ । तर दुई वर्षभित्रै कर्णाली साक्षर बन्ला त ? यो भने चासोको विषय बनेको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले कर्णालीमा दुई वर्षभित्र साक्षर बनाउन चुनौती भएको तर नीतिलाई कसरी सफल पार्ने कुरामा बहस भइरहेको बताए ।
प्रवक्ता अधिकारीले कर्णाली प्रदेश भौगलिक रूपमा विकट हुनुले पनि चुनौती भएको तर प्रदेश सरकारले संघ र स्थानीय सरकारसँग समन्वय गरेर लक्ष्य पूरा गर्ने बताए ।
१५ देखि ५९ वर्ष उमेर समूहका निरक्षरलाई दुई वर्षभित्र पढ्न र लेख्न सक्ने बनाउने उद्देश्यले २०६५ मा राष्ट्रिय साक्षरता अभियान सुरु गरेको नेपालका धेरै जिल्ला अझै पनि निरक्षरको सूचीमै छन् ।
नेपालको दुर्गम तथा विकट प्रदेशका नामले चिनिने कर्णाली प्रदेशका १० जिल्लामध्ये पाँच जिल्ला साक्षर जिल्ला घोषणा भएका छन् । १० वर्षको अवधिमा पाँच जिल्ला मात्र साक्षर गर्न सकिएको कर्णालीमा दुई वर्षभित्र सबै जिल्ला साक्षर बनाउन चुनौती छ ।
कर्णालीका सुर्खेत, रुकुम (पश्चिम), सल्यान, दैलेख र जाजरकोट जिल्ला साक्षर जिल्ला घोषणा भइसकेका छन् भने बाँकी कर्णाली अञ्चलका साविकका पाँच जिल्ला हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पा भने साक्षर जिल्ला घोषणा हुन सकेका छैनन् ।
शिक्षामा सबैको पहुँच नभएको कारण साक्षर जिल्ला घोषणा गर्न गाह्रो भएको छ । विशेषगरी छ वर्षदेखि माथिको ९० प्रतिशत जनसंख्या साक्षर भएमा साक्षर जिल्ला घोषणा गर्ने मापदण्ड छ ।
२०६५ सालको बजेट कार्यक्रममा पनि दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने कार्यक्रम अगाडि सारिए पनि हालसम्म सो सम्भव हुन सकेको छैन । शिक्षा विकास निर्देशनालय सुर्खेतले गत वर्ष सार्वजजिक गरेको शैक्षिक सूचकमा कर्णालीका ७७ दशमलव ६ प्रतिशत नागरिक मात्रै साक्षर रहेको तथ्यांक सार्वजनिक भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६