इजिप्टको सिनाईमा सरकारी फौजमाथिको आक्रमणमा संलग्न रहेका शंकास्पद १४ जना विद्रोही मारिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आरिस शहरमा आक्रमण गरी भागेका विद्रोही नै मारिएको उल्लेख छ । उनीहरू अल-मासाइद जिल्लास्थित एक खाली घरमा लुकेर बसेको अवस्थामा भेटिएको सुरक्षा फौजले जनाएको छ ।
उक्त घर खानतलासी गर्ने क्रममा सुरक्षा फौज र विद्रोहीबीच गोली हानाहान भएको थियो । सैनिक प्रवक्ताले घटनास्थलबाट ठूलो परिमाणमा गोलीगठ्ठा, मेसिनगन र विस्फोटक पदार्थ भेटिएको दाबी गरेका छन् ।
बुधबार बिहान उत्तरी सिनाईको आरिस नगरको एक सुरक्षा जाँच पोष्टमा विद्रोहीले गरेको आक्रमणमा आठ जना सुरक्षाकर्मीको ज्यान गएको थियो । दोहोरो भिडन्तमा पाँच जना आतङ्कीको पनि मृत्यु भएको थियो ।
पछिल्ला केही वर्षदेखि इजिप्टको सिनाई आसपास विद्रोही आक्रमण हुन थालेका छन् । विद्रोहीको आक्रमणबाट सयौँ प्रहरी र सेनाको ज्यान गइसकेको छ । यी आक्रमणहरू सिनाईमा रहेका इस्लामिक स्टेट सम्बद्ध लडाकुले गरेको बताइएको छ ।
सन् २०१८ को फेब्रुअरीमा सरकारी सेनाले उत्तरी सिनाईलाई केन्द्रित गरी भीषण सैन्य कारबाही थालेको थियो । यस क्रममा कम्तीमा ७०० लडाकुको ज्यान गइसकेको छ ।