काठमाडाैं : केही वर्षअघि तनहुँ देवघाट गाउँपालिकाका केही स्थानीयलाई के खाने र के लाउने भन्ने पिर थियो । दिनभर जसोतसो काम गरेर जीविका चलाउनु उनीहरूको दैनिकी थियो । तर अहिले भने देवघाटबासीको दैनिकी नै फेरिएको छ ।
एक वर्षअघिसम्म रक्सी बनाएर नारायणगढ बजारमा बिक्री गर्न जानु र फर्कंदा त्यही पैसाले तरकारी, नून, तेल किनेर जीविका चलाउने देवघाटकी जौमाया रानामगरको दैनिकी अहिले पूरै परिवर्तन भइसकेको छ ।
पहिले बोतलमा रक्सी लिएर नारायणगढ बेच्न जाने जौमायाको घरको बारीमा अहिले करेला, घिरौंला, चिचिण्डो, लौकालगायतका तरकारी लटरम्म छन् ।
रक्सी बनाउन चाहिने कोदो लगाउने बारीमा विभिन्न जातका तरकारी खेती गर्न थालेपछि बजारबाट तरकारी किन्नुपर्ने बाध्यताको अन्त्य भएसँगै मनग्ये आम्दानी गर्न सक्षम भएकी छिन् जौमाया ।
उनी भन्छिन्, रक्सी बेच्नभन्दा त तरकारी बेच्दैमा बढी आम्दानी भएको छ, इज्जत पनि भएको छ । प्रहरीको आँखा छलेर रक्सी बेच्न जानुपर्थ्यो । गएको चैतदेखि आजसम्म तरकारी बेचेर २० हजारभन्दा बढी आम्दानी गर्न सकेको उनी बताउँछिन् ।
जौमाया रानामगरको मात्र होइन स्थानीय एलिजा अधिकारीको पनि जीवन सोचे जस्तै बनेको छ । केही वर्ष नारायणगढमा निजी विद्यालयमा शिक्षिका रहेकी एलिजा अधिकारी अहिले शिक्षण पेसा छाडेर व्यावसायिक तरकारी खेतीमा लागेकी छिन् ।
वर्षभरि पढाउँदा पनि सोचे जति कमाउन नसकेकी अधिकारी अहिले तरकारी खेती गरेर मनग्ये अम्दानी गरिरहेकी छिन् । उनले तरकारी खेती गरेर २/३ महिनामै करिब ४० हजार रुपैयाँ कमाएको बताइन् ।
देवघाटबासीको दैनिकी फेर्ने मुख्य भूमिका बहुआयामिक स्रोत केन्द्र (एमआरसी) नेपाल नामक गैरसरकारी संस्थाको हो । दुई वर्षअघि तरकारी खेती गर्न तालिम, उन्नत बीउ र प्राविधिक ज्ञान दिएपछि देवघाटबासी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।
संस्थाका परियोजना संयोजक बद्री कार्कीले तालिमबाट स्थानीय मगर समुदायका बासिन्दाको सोचमा परिवर्तन ल्याएको बताए । संयोजक कार्की भन्छन्, पहिला रक्सी नबनाउने घर थिएनन्, अहिले तरकारी नलगाउने कोही छैनन् ।
संस्थाले देवघाट गाउँपालिकाको वडा नं १ र ५ मा पाँच/पाँच वटा कृषक समूह गठन गरी विषादीरहित तरकारी खेतीमा जोड दिएको छ ।
सिँचाइ नहुँदा चाहेजति तरकारी खेती गर्न समस्या भएको बताउँदै स्थानीय कमलादेवी कृषक समूहका अध्यक्ष लालबहादुर घागामगर भन्छन्, ‘आकासे पानी र जुठेल्नाको पानीको भरमा नै भए पनि तरकारी खेती गरेका छौँ । यसले आम्दानीसँगै सामाजिक पहिचान पनि बढेको छ ।’
संयुक्त राष्ट्रसंघीय विकास कायक्रम विश्व वातावरण कोष साना अनुदान कार्यक्रमको आर्थिक सहयोगमा एमआरसी नेपालद्वारा सञ्चालित दिगो जीविकोपार्जन सुदृढीकरणका लागि जलवायु अनुकूलता सुहाउँदो कृषि परियोजनामार्फत यहाँ वातावरणमैत्री खेती प्रणालीमा जोड दिइएको छ ।
जलवायुमा असर नपर्ने गरी भौगोलिक अवस्था र हावापानी सुहाउँदो उन्नत जातको बीउको प्रयोग तथा स्थानीय लोपोन्मुख जातको बीउहरूलाई संरक्षण गरी विषादीरहित तरकारी खेतीमा जोड दिइएको संस्थाका कार्यकारी निर्देशक भरत खड्का बताउँछन् ।
बजारबाट किनेर ल्याएको अधिकांश तरकारीमा विषादीको जथाभावी प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा छालासम्बन्धी रोग, छारेरोग, रक्तचाप, मुटुरोग अथवा श्वासप्रश्वाससम्बन्धी समस्या हुने गरेकामा अब आफैँले जैविक तरकारी उत्पादन गर्न थालेपछि त्यस्तो अवस्था नरहेको रुपाटार कृषक समूहका अध्यक्ष अनुप पोखरेलको भनाइ छ ।
अहिले मानिसमा विस्तारै जैविक तरकारी, फलफूलतर्फ आकर्षण बढ्न थालेकाले नारायणगढ बजारबाट गाउँमै व्यापारीहरू किन्न आउने गरेको उनी बताउँछन् ।
नारायण र कालीगण्डकी नदीको बीचमा रहेर पनि सिँचाइको सुविधा पुग्न नसकेको देवघाटमा थोपा सिँचाइको प्रयोग गरेर तरकारी तथा फलफूल खेती गरिएको छ । विगतमा खाली र सुख्खा दखिने त्यो जमिन आजभोलि हराभरा र तरकारीले लटरम्म देख्न सकिन्छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६