लहान : सरकारले अतिविपन्न दलित परिवारलाई लक्षित गरी सञ्चालन गरेको जनता आवास कार्यक्रम सिरहा र सप्तरीमा अलपत्र परेको छ ।
कार्यक्रम कार्यान्वयन गर्ने निकायको ढिलासुस्तीका कारण कार्यक्रम अलपत्र परेको हो । कार्यक्रम अलपत्र हुदाँ नयाँ घर पाउने आसमा पुरानो घर भत्काएर बसेका सिरहा र सप्तरीका अतिविपन्न दलित समुदाय समस्यामा परेका छन् ।
नयाँ घर पाउँछु भन्ने आशामा घर भत्काएको दुई वर्ष भइसक्यो , सिरहा मिर्चैया नगरपालिकाका स्थानीयवासी शङ्कर सदाले भने, तर अझै घर बन्ने टुङ्गो भइसकेको छैन्, जसका कारण यो वर्षको वर्षात्मा पनि पाल टाँगेरै दिन बिताउनुपर्ने अवस्था छ ।
जनता आवास कार्यक्रम सञ्चालन गर्ने शहरी विकास तथा भवन कार्यालय राजविराजमा सम्पर्क गर्दा अब केही दिनमा बन्छ भन्ने जवाफ मात्रै पाइरहेको उनको गुनासो छ ।
अतिविपन्न तथा दलित समुदायलाई आवास उपलब्ध गराउने सरकारी योजनाअनुसार आर्थिक वर्ष २०६६/६७ देखि सिरहा, सप्तरीलगायतका जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन भइरहेको छ । गत आर्थिक वर्ष २०७४/७५ मा स्वीकृत भएका एक हजार ६०० आवास सर्वेक्षणमै रोकिएको छ भने चालू आर्थिक वर्ष २०७५/७६ मा पनि स्वीकृत भएका एक हजार छ सय सात भवन निर्माण अझै सुरु हुनसकेको छैन ।
अघिल्लो वर्षसम्म केन्द्र सरकारले सञ्चालन गर्दै आए पनि यस वर्षदेखि प्रदेश सरकारले उक्त कार्यक्रम सञ्चालन गर्ने निश्चित भएको छ ।
प्रदेश नं २ सरकारले यस वर्ष आवास निर्माणकार्य सम्पन्न गर्न ३० करोड विनियोजित गरी ५० प्रतिशत रकम शहरी विकास तथा भवन कार्यालय राजविराजलाई पठाइसकेको छ । तर पनि सो कार्यालयले आर्थिक वर्ष सकिनलाग्दासमेत लाभग्राहीको विवरणसम्म पनि सङ्कलन गर्न सकेको छैन ।
आर्थिक वर्ष २०७३/७४ मा कूल ११ करोड ८७ लाख ९१ हजार रुपैयाँ विनियोजित बजेटमा सिरहा र सप्तरीमा एक/एक हजार पक्की भवन एक वर्षभित्र निर्माण सम्पन्न हुनुपर्नेमा उक्त कार्यसमेत पूरा हुनसकेको छैन । केही घरमा डिपिसी, गारो, जग र छानासम्मै कार्य भएको छ ।
शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले जनता आवास निर्माणका लागि विवरण पठाउन स्थानीय तहलाई पत्रचार गरिए पनि अहिलेसम्म स्थानीय तहले विवरण नपठाएकाले ढिलाइ भएको बताए । -रासस
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६