काठमाडौं : नेपालमा प्रायः युवा वर्गले पुख्र्यौली पेसा रोजेर त्यसैमा आफ्नो करियर बनाउने गरेको पाइन्छ । जस्तै कलाकारका छोराछोरी कलाकार, राजनीतिज्ञका छोराछोरी राजनीतिज्ञ तथा गायकका सन्तान गायक, शिक्षकका सन्तान शिक्षक तथा व्यापारीको सन्तान व्यापारी भएका उदाहरण धेरै छन् ।
सन्तान, जस्तो पारिवारिक पेसागत वातावरणमा हुर्किएका छन्, त्यस्तै पेसामा खुसी हुने र अभ्यस्त हुने गर्छन् । तर हिमालको देश भनेर चिनिने नेपालमा हिमाल आरोहण पेसालाई अहिलेको युवा वर्गले अँगाल्न सकेको छैन । आरोहीका सन्तानले आफ्ना मातापिताको बाध्यता र संघर्षमा खुसी नखोजिदिँदा भविष्यमा हिमाल आरोहीको संख्यामै कमी आउने निश्चितप्रायः देखिँदै छ ।
सन् १९५३ मा सगरमाथा शिखरमा पहिलोपटक मानव पाइला टेक्दाका जिउँदो साक्षी कान्छा शेर्पाले धेरै वर्ष हिमाल आरोहण गर्न सहयोगीको रूपमा काम गरे । तर उनले आफ्ना दुई छोरालाई आफूजस्तै आरोहण सहयोगी बनाएनन् ।
अहिले उनका जेठा छोरा होटल व्यवसाय गर्छन भने कान्छा छोरा खुम्बू पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष छन् । उनले कहिल्यै पनि आफूले गरेको जस्तो छोराछोरीले संघर्ष गर्नु नपरोस् भने त्यतातिर जान प्रेरणा नै दिएनन् ।
उनले सन्तानलाई त्योभन्दा कम संघर्ष र बढी सम्मान भएको पेसामा लाग्न प्रेरित गरेको बताए । त्यसैले अहिले आफ्ना सन्तान अरू पेसामै खुसी रहेको बताउँदै उनले भने, ‘मैले नाम कमाउने सोचले हिमाल आरोहण गरेको होइन, आर्थिक अभावले आरोही बनायो । अब मेरा छोराछोरी ज्यान जोखिममा राखेर हिमाल आरोहण गरेर खानुपर्ने अवस्थामा छैनन् ।’
उनका अनुसार संघर्ष बढी र ज्यान नै जोखिममा राखेर काम गर्नुपर्ने भएकाले अहिलेका युवाले आरोहणमा चासो नदिँदा युवा आरोहण सहयोगी पाउन मुस्किल भएको हो ।
त्यस्तै २४ पटक सगरमाथा आरोहण गरिसकेका विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा हरेक वर्ष हिमाल आरोहणमै व्यस्त छन् । तर उनका सन्तानले हिमालको आरोहण नगरून् भनेर सन्तानको उच्च शिक्षामा ध्यान दिइरहेका छन् ।
उनले २५औं पटक सगरमाथा आरोहण गरेर आफू पनि सन्यास लिने सोचमा रहेको बताउँदै अबका युवा अन्य पेसामा रम्न थालेको र हिमाल आरोहणमा चासो कम भएको हुँदा आरोहणमा सहयोग गर्ने हाई अल्टिच्युड गाइडको अभाव सुरु हुने उनको तर्क छ ।
उनले भने, ‘अबको १० वर्षपछि आरोहण सहयोगी पाइँदैन । युवाहरूले पढेका छन् । अरूतिरै काम पाइहाल्छन् ।’ आफ्नो पालामा पढ्न नपाएर बाध्यताले सहयोगीका रूपमा काम गरेको भए पनि आफ्ना सन्तानले क्षमता अनुसार अरूतिरै काम गरुन् भनेर शिक्षामा ध्यान दिइरहेको उनको भनाइ छ ।
‘यसपालि शिखर चुम्ने बेला ट्राफिक जाम भएकाले आरोहीको संख्या कम गर्नुपर्छ भन्ने हल्ला चलिरहेको छ । तर मलाई चाहिँ कम गर्नुपर्छ भन्ने लाग्दैन’, उनले भने, ‘किनभने अबको १० वर्षपछि आरोहण गर्न इच्छा भए पनि सहयोगी नपाएर त्यत्तिकै फर्कनुपर्छ । यो आफैँ कम हुँदै जान्छ ।’
उनका अनुसार नेपालमा सम्मान र उत्साह दिने व्यवस्था नभएको तथा हिमाल आरोहण गर्न सजिलो नभएकाले आरोहण सहयोगीको रूपमा काम गर्नेको संख्या न्यून हुदै गइरहेको हो ।
त्यस्तै सगरमाथाको १४ पटक आरोहण गरिसकेका आरोही फुर्वा तेन्जिङ शेर्पाको पनि उस्तै तर्क छ । आफ्नो पालामा शिक्षा नपाएपछि साहस र संघर्षले आफूलाई आरोही बनाए पनि अबका युवाहरू त्यसतर्फ कम देखिएकाले अब आरोहीहरूलाई सहयोगीको अभाव हुने देखिएकामा सहमत छन् ।
उनका अनुसार आरोहीहरूको आकर्षणसँगै नेपालमा युवाहरूको चासो र उत्साह जगाउने किसिमको कुनै नीति नहुँदा आरोहण ओझेलमा पर्ने सम्भावना बढेको उनको भनाइ छ ।
बाध्यताले लागेकाहरूले पेसालाई निरन्तरता दिइरहेका भए पनि धेरैले बीचमै छाडेर विदेश पलायन भएका छन् भने गर्दै आएकाहरू पनि निराश रहेको फुर्वाले बताए ।
सगरमाथाको नौ पटक आरोहण गरेका काजी शेर्पा पनि यसबारे चिन्तितसँगै सरकारको नीतिबारे असन्तुष्ट छन् । उनले भने, ‘त्यत्रो दुःख गरेर आरोहीलाई शिखर पु¥याइन्छ । तर नेपाल सरकारले एउटा गाइडको प्रमाणपत्र समेत नदिएर भरियाको प्रमाण पत्र दिन्छ ।’
त्यस्ता असन्तुष्टि धेरैको भएको बताउँदै उनी थप्छन्, ‘हौसला दिने तथा सम्मान गर्ने केही भए पो जाँगर चल्छ ।’ धेरैले सामान्य सोचेर आरोहण सहयोगी बन्छु भनेर वार्षिक १५/२० जना आउने भए पनि माथि जान नसकेपछि जिन्दगी फर्केर हिमाल आउँदिन भनेर फर्किनेहरू पनि देखिएरहेको उनले बताए ।
त्यसैले अबका युवाहरूले त्यसतर्फ चासो नदिने तथा केही चासो दिनेहरूले पनि काम गर्न नसक्ने उनले बताए । साथै हिमालको माथिल्लो क्षेत्रमा काम गर्नेको श्रमशोषणसमेत हुने गरेको उनको तर्क छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६