ओखलढुंगा : सुनकाेसी नदी किनारमा रहेको ढेबुवाघाटमा खानेपानीको चरम अभाव छ । नजिकै खोला बगिरहेको भए पनि गाउँमा पानीको अभाव बढ्दै गएको हो । ढेबुवाघाटका माझीले पिउँदै गरेको पानीको मुहान सुकेपछि खानेपानीकोे समस्या झन् बढ्दो छ ।
सुनकाेसी गाउँपालिका–१ ढेबुवाघाटका माझी समुदायका स्थानीय वर्षौँदेखि नदीको दूषित पानी पिउन बाध्य छन् । उनीहरुले विगत नौ वर्षदेखि नदीको पानी खानेपानीका रुपमा प्रयोग गर्दै आएका हुन् । पानीको स्रोत नहुँदा वर्षामा सुनकाेसीमा बाढी आउने भए पनि आफूहरुले नदीकै पानी पिउनुपरेको स्थानीय रहबहादुर माझीले बताए ।
गत वर्ष सुनकाेसी गाउँपालिकाले पम्पसेट निर्माण गरेर खानेपानीको सुविधा दिने प्रयास गरे पनि अन्य मुहान नभएको भन्दै सुनकाेसी नदीकै पानी गाउँमा पुर्याइएको छ । सुरुसुरुमा नदी किनारबाट शुद्ध खानेपानी निकाल्ने तरिका हामीलाई थाहा थिएन , उनले भने, निकै वर्षसम्म फोहर पानी खाइयो, अहिले नदी किनारमा पोखरी खनेर पानी निकालेका थियौँ ।
त्यो पोखरी पनि सुनकाेसीमा आएको बाढीले पुरिएको र पम्पमार्फत आउने पानी बढी धमिलो आउने गरेको उनको भनाइ छ । अहिले स्थानीयवासी नदीमा बगेर आएको गन्हाउने धमिलो पानी पिउन बाध्य छन् ।
ढेबुवाका स्थानीयवासीलाई नदीको फोहर पानी खानाले विभिन्न किसिमका रोगले सताउने गरेको छ । पानीकै कारणले बेला–बेलामा पेट दुख्ने, झाडापखाला लाग्ने गर्छ , रहबहादुरले भने, हिउँदमा भन्दा बर्खामा बढी बिरामी भइन्छ ।
ढेबुवाघाटमा सात घरपरिवारका करिब ६० जना बस्छन् । बालबलिका तथा वृद्धवृद्धालाई दूषित खानेपानीका कारण लाग्ने रोगले अलि बढी सताउने गरेको छिमेकी गाउँ सिन्धुली रत्नवतीका शरण माझीले बताए ।
वडा कार्यलयले गत वर्ष पाँच लाखको लागतमा पम्पसेट निर्माण गरेको भए पनि वैकल्पिक मुहान नहुँदा सुनकाेसीको धमिलो पानी पिउनुपर्ने स्थानीयवासीको बाध्यता हटेको छैन ।
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६