त्रिभुवन आर्मी क्लवले तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।
आर्मीले बुधबार सेमिफाईनल खेलमा प्रदेश ३ लाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै फाईनलमा स्थान पक्का गरेको हो । उपाधिको लागि आर्मीले विहीबार हुने दोस्रो सेमिफाईनलमा एपीएफ र पुलिसको विजेतासँग जेठ २५ मा प्रतिस्पर्धा गर्ने छ ।
३ सय १० रनको विशाल लक्ष्य पछ्याएको प्रदेश ३ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९२ रन मात्र बनाउन सक्यो ।
उसका लागि युवा ब्याट्सम्यान ईशान पाण्डेले सर्वाधिक ७९ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । नन्दन यादव ६६ बलमा १ छक्का सहित १८ रनमा अविजित रहे ।
प्रदेश ३ ले ओपनर रित गौतमलाई ५ रनमा रनमा पहिलो विकेटका रुपमा गुमाएको थियो । दोस्रो विकेटका रुपमा रविन जोशी तेस्रो ओभरको चौथो बलमा ८ रनमा क्याच आउट भए । तेस्रो विकेटका रुपमा कप्तान पारस खड्का १९ रनमा आउट भएपछि विशाल लक्ष्य पछ्याएको प्रदेश ३ संकटमा परेको थियो ।
पारसलाई ११ ओभरको पाँचौ बलमा साहब आलमले हरि बहादुर चौहानबाट क्याच आउट गराउनु अघि १६ बलमा ३ चौका प्रहार गरे । २० औं ओभरको पहिलो बलमा सुसन भारीले कुशल मल्लबाट क्याच गराउँदै ज्ञानेन्द्र मल्ललाई २६ रनमा पेभिलिएन फर्काएपछि प्रदेश ३ को जित कठिन बनेको थियो । आदिल खान १५,जितेन्द्र सिंह ठकुरी डक,सोनु तामाङ २ र सोनु देवकोटा शुन्यमा आउट भएपछि प्रदेश ३ को जितको संभावना सकिएको थियो ।
आर्मीका लागि साहव आलमले सर्वाधिक ३ विकेट लिए । करण केसीले २,सुशन भारी,रोहित कुमार पौडेल र कुशल मल्लले समान १ विकेट हात पारे ।
त्यस अघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ९ रन बनायो । कप्तान विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै मात्र ४२ बलमा समान ५ चौका र छक्का सहित ७५ रनमा अविजित रहेपछि आर्मी विशाल योगफलमा पुगेको हो ।
प्रदेश ३ का लागि जितेन्द्रसिंह ठकुरी र नन्दन यादवले समान २ विकेट लिए । कप्तान पारस खड्का र सोनु देवकोटाको नाममा समान १ विकेट रह्यो ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६