काठमाडौं : त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वय र प्रदेश न.३ सरकारको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा अन्तर्राष्ट्रिय (सार्क) युवा वैज्ञानिक सम्मेलन ललितपुरमा शुरु भएको छ ।
उद्योग,पर्यटन,वन,वातावरण साथै जलवायु परिवर्तन, प्राकृतिक प्रकोप लगायतका महत्वपूर्ण बैज्ञानिक विषयहरुमा अन्तराष्ट्रिय वैज्ञानिकहरुका अनुभव साटासाट गर्ने एवम् युवा वैज्ञानिकहरुको सञ्जाल निर्माण गर्ने उद्देश्यले आयोजित सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले गरेका हुन् ।
पूर्व प्रधानमन्त्री नेपालले जलवायु परिवर्तन क्षेत्रमा देखिएको विविधताको बारेमा खोजमूलक अध्ययन गरी जलवायु परिवर्तन र विश्वव्यापी उष्णताका कारणले उत्पन्न समस्याको समधान गर्न युवा वैज्ञानिक सम्मेलनले महत्वपूर्ण योगदान गर्ने अपेक्षा व्यक्त गरे । युवा बैज्ञानिक पलायन रोकी देशभित्रै युवाहरुले अनुसन्धान गर्ने र राज्यले वैज्ञानिक अनुसन्धानको कार्यान्वयन गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश नं.३ का सभामुख सानुकुमार श्रेष्ठले युवा बैज्ञानिक सम्मेलनले बैज्ञानिक क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धीका वारेमा छलफल गरी सरकारलाई ठोस नीति निर्माण गर्न सहयोग गर्नुपर्ने बताए । प्रदेश नं.३ का पर्यटन,उद्योग बन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले अन्तर्राष्ट्रिय (सार्क) युवा सम्मेलनले प्रदेश सरकारलाई पर्यटन उद्योग तथा बैज्ञानिक क्षेत्रमा नीति निर्माण गर्न मार्ग निर्देशन गर्ने धारणा व्यक्त गरे ।
सम्मेलनलाई सम्वोधन गर्दै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले अन्तर्राष्ट्रिय युवा सम्मेलन विश्वमा देखापरेका नवीनतम चुनौतिहरुको सामना गर्ने रचनात्मक उपायका बारेमा केन्द्रीत हुने बताइन्। जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. डा. दिपक अर्यालले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रका वारेमा संक्षिप्त जानकारी दिए । साथै उनले युवा वैज्ञानिकहरुको अन्तराष्ट्रिय नेटवर्क निर्माण गरी सार्क क्षेत्रमा देखिएका विद्यमान समस्यालाई सम्वोधन गर्न वैज्ञानिक क्षेत्रमा सहकार्य र समन्वय गर्ने उद्देश्यले अन्तराष्र्टिय युवा सम्मेलनको आयोजना गरिएको बताए ।
सम्मेलनमा सार्क क्षेत्रका नेपाल वाहेकका १७ युवा वैज्ञानिकहरु उपस्थिति रहेको छ । साथै सार्क वाहेका जर्मनी,फिनल्याण्ड, चीन र वेलायत समेतवाट युवा वैज्ञानिकहरुको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा प्रस्तुत ५१ वटा कार्यपत्रमा उद्योग पर्यटन, वन, वातवरण लगायत वैज्ञानिक क्षेत्रमा देखिएका विविध विषयहरु समेटिएको अन्तराष्ट्रिय (सार्क) युवा बैज्ञानिक सम्मेलनका सम्पर्क व्यक्ति एवं जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद दवाडीले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६