काठमाडाैं : त्रिचन्द्र कलेज काठमाडौंबाट पत्रकारितामा स्नातक गरेकी गोरखाकी रेखा भन्तना अहिले आरआर क्याम्पसमा स्नातकोत्तर गर्दै छिन् ।
सानैदेखि समाजसेवामा उनको रुचि थियो । स्नातक गरिसकेपछि उनलाई केही समाजसेवाको काम गरौं भन्ने लाग्यो । र, यही रुचीको कुरा गोरखामै शिक्षण पेसामा रहेकी आफ्नी दिदीसँग सेयर गरिन्, रेखाले ।
बहिनीको समाजसेवा गर्ने कुरा सुनेर दिदीले गोरखा जिल्लाकै अजिरकोट गाउँपालिकामा अनाथ बालबालिका रहेको र तिनै बालबालिकाका लागि केही गर्न सकिने सुझाव दिइन् । केही समयपछि रेखाले त्यही कुरा आफ्ना अन्य साथीलाई सुनाइन् ।
त्यसपछि सबैजना मिलेर त्यस ठाउँका बालबालिकाहरूको अवस्थाबारे बुझ्न जाँदा उनीहरूको अवस्था नाजुक पाएपछि उनीहरूलाई सही मार्ग दिनुपर्छ भन्ने ठानेर फोकस नेपाल नामक संस्था स्थापना गरे उनीहरुले ।
उनीहरुको सोही योजना अनुसार अनाथ तथा असहाय बालबालिकाको हित गर्ने उद्देश्यले अजिरकोट गाउँपालिकामा २०७४ सालमा फोकस नेपाल स्थापना भयो ।
उक्त संस्थाले बालबालिकाको शैक्षिक स्तर उकास्ने, स्वास्थ्य तथा आधारभूत आवश्यकता पूरा गर्ने उद्देश्य लिएको संस्थाकी अध्यक्ष भन्तनाले बताइन् ।
संस्थाले बालबालिकाहरूका लागि स्टेसनरी, मौसम अनुसारको लत्ताकपडा तथा विद्यालय पोसाकहरू प्रदान गर्दै आएको छ । अध्यक्ष भन्तना भन्छिन्, ‘मेरो घर पनि गोरखा नै हो । तर अजिरकोट गाउँपालिका अलि दुर्गम गाउँ हो । हामीले अनाथ बालबालिका शिक्षाबाट वञ्चित नहोऊन् भनेर यो संस्था सुरु गरेका हौँ ।’
उनी भन्छिन्, ‘म सानैदेखि समाजसेवा गर्न चाहन्थेँ र अहिले समाजसेवामा लागेकी छु । काम सुरु गर्दा चुनौती धेरै थिए, धेरै जनाले धेरै कुरा भने । तर सफलतामा पुग्न बहिरो बन्नु पर्दोरहेछ ।’
अजिरकोटका अनाथ बालबालिका जो विद्यालय जाने उमेरमा आफन्तको घरमा शरण लिएर बस्न बाध्य थिए । तर अहिले सबै जना विद्यालय गएर अन्य विद्यार्थी जस्तै नियमित पढ्ने र अन्य अतिरिक्त क्रियाकलापमा समेत सहभागी भइरहेका छन् ।
संस्थाका महासचिव नगेन्द्र माखिम भन्छन्, ‘विद्यार्थीहरूको सक्रियता देखेर हामीलाई पनि खुसी लागेको छ । विद्यालयका प्रद्यानाध्यापक, शिक्षक, गाउँपालिका प्रमुखलगायत सबैले साथ दिइरहेका छन् । हाम्रो कामलाई प्रशंसा गर्दा समाजका लागि केही गर्न सकेको हो कि भन्ने लागेको छ ।’
सुरुआतमा आफ्नो साथी तथा आफन्तबाट सहयोग मागेर संकलन गरेको पैसाले विद्यार्थीहरूले पढ्दै आएका थिए । ‘संस्थामा आर्थिक समस्या प्रायः भइरहन्छ, सधैँ अरूसँग मागेर मात्र भएन । त्यसैले कहिलेकाहीँ हामी आफैँले पानीपुरी बेचेर पैसा कमाउछौँ । साथीहरू विभिन्न कार्यक्रममा गीत गाउनुहुन्छ । हामी स्वयं पनि विद्यार्थी हौँ’, रेखा भन्छिन्, ‘एक महिना भयो काठमाडौंको चक्रपथमा हाम्रो सात जनाको टिमले पिभाइन नामक रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छौँ ।’
संस्थाले रेस्टुरेन्टबाट फाइदा भएको ५ प्रतिशत अनाथ बालबालिकाहरूका लागि खर्च गर्ने गरी बचत गर्ने निर्णय गरेको रहेछ । नगेन्द्र माखिम भन्छन्, ‘संस्था चलाउन चुनौती अनि सहज दुवै हुन्छ । टिमवर्क हो, टिममा रहेका सबै सदस्य बराबर काम गर्न सके सहज हुन्छ, नभए त चुनौती नै हो । एउटै परिवारको सदस्यमा त कहिलेकाही कुरा मिल्दैन, अझ यो त संस्था हो ।’
अलिकति पनि व्यक्तिगत स्वार्थ नराखी समाजमा भएका अनाथ तथा असहाय बालबालिकाहरूको हितका लागि मात्र खटिरहेको उनीहरू बताउँछन् । साथै अनाथ बालबालिकाहरूको खम्बा भएर अझ राम्रा र उल्लेखनीय काम गर्ने संस्थाको उद्देश्य छ ।
संस्थाका अध्यक्ष भन्तना भन्छिन्, ‘आफूहरूले केही गरिरहे पनि केही गर्न नसके जस्तो भान हुन्छ । केही समयपछि सानेपामा कार्यालय बनाएर अन्य थप काम गर्ने हाम्रो लक्ष्य छ ।’
अध्यक्ष रेखा भन्तनाका अनुसार अहिले संस्थामा २१ जना अनाथ तथा असहाय बालबालिका छन् । उनीहरू गोरखा जिल्लाको अजिरकोट गाउँपालिका बुद्ध सिङटारस्थित बुद्ध ज्योति आधारभूत विद्यालयमा अध्ययनरत छन् । जसमा ११ जना छात्रा छन् भने १० जना छात्र अनाथ बालबालिका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६