काठमाडौं : विश्व वातावरण दिवसका अवसरमा नेपाल बार एसाेसिएसनको परिसरमा रुद्राक्षको बिरुवा रोपिएको छ ।
वातावरणको संरक्षण गर्ने उद्देश्यले नेपाल बार एसाेसिएसन तथा सर्वोच्च अदालत बार एसाेसिएसनको वातावरण तथा कानुन विभाग र प्राकृतिक संरक्षक समाजले संयुक्तरुपमा बार एसाेसिएसनको परिसरमा रुद्राक्षको बिरुवा रोपेका हुन्।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बारका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र समाजका अध्यक्ष तथा पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले सर्वोच्च अदालत र बार एसाेसिएसन वरिपरि बिरुवा रोपे
बार अध्यक्ष श्रेष्ठले शहरी वातावरण मानिसका लागि उपयुक्त नभएको हुँदा उपयुक्त वातावरणको सिर्जना सबैले मिलेर गर्नुपर्ने बताए ।
सर्वोच्च अदालत बारका अध्यक्ष अधिकारीले बार परिसरमा खैनी, चुरोट र सुर्तीजन्य पद्धार्थको प्रयोगमा निषेध लगाउनुपर्ने बताए । समाजका अध्यक्ष कटवालले आफ्नो र आफ्नो सन्ततिका लागि वातावरण जोगाउनुपर्ने र हरियाली राख्नुपर्नेमा जोड दिए । उनले वातावरण संरक्षण गर्न प्रतीकका रुपमा कार्यक्रममा उपस्थित सबैलाई कागतीको बिरुवा प्रदान गरेका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६