काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासको आधार नै शिक्षा भएको बताएकी छन् । उनले देशको विकास गर्न शिक्षा महत्वपुर्ण भएकोले शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताइन् ।
बाँकेको वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिइन् ।
बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै उनले “शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनताले पाउनुपर्छ ।” राष्ट्रपति भण्डारीले शिक्षालाई व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयलाई बालमैत्री क्षेत्रका रुपमा विकास गर्दै आवश्यक भौतिक पूर्वाधारमा समेत सरकारले लगानी गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्न पनि गुणस्तरीय शिक्षा जरुरी रहेको बताइन्।
सबै नागरिकले अनिवार्य र आधारभूत शिक्षा पाउनुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी रोजगारमूलक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताईन् ।
अर्को एक प्रसङ्गमा राष्ट्रपति भण्डारीले यस क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई पूर्णता दिन सरकारलाई सुझाव दिँदै सिक्टा सिंचाइ आयोजना, भेरी बबई डाइभर्सनलगायत यहाँको राष्ट्रिय गौरवका आयोजना निर्माणमा सरकारले चासो देखाउनुपर्ने बताइन् ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६