काठमाडौं : ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक चौधरीले दिएकाे अभिव्यक्तिको विरोध गर्दै आत्मालाेचना गर्न आग्रह गरेका छन् ।
मेयर चौधरीले पत्रकारको नाम नै तोकेर ‘नाक भाँच्न एक करोड रुपैयाँ छुट्याएको’ घोषणा गरेपछि मुख्यमन्त्री पाेखरेलले यस्ताे बताएका हुन् । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेलले मेयर चौधरीका अभिव्यक्ति पार्टीको नीति, मूल्य मान्यतासँग मेल नखाने बताए ।
आफ्नाे फेसबुक वालमा पाेस्ट गर्दै उनले भनेका छन्, ‘इटहरीका मेयर द्वारिक चौधरी हकी स्वभावको हुनुहुन्छ भन्ने कुरा त उहाँको अभिव्यक्तिबाटै थाह हुन्छ । तर पार्टीको मान्यताका बारेमा भने उहाँका बुझाइहरु भने पूर्णतः त्रुटिपूर्ण छन् । नेकपा विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यताप्रति दृढ छ । जबजबाट दीक्षित कार्यकर्ताले त लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासनप्रति झनै प्रतिबद्ध रहनुपर्ने हुन्छ । द्वारिकजीको आक्रोश पीत पत्रकारिता र भ्रष्टाचारविरुद्ध भए पनि अभिव्यक्ति भने अस्वभाविक र गलत छन् । तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसाबले आफ्ना अभिव्यक्तिलाई सच्याउदै आत्मआलोचना गर्नु उचित हुनेछ ।’
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६