काठमाडौं : इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकार कुट्ने धम्की दिएकै दिन सुनसरीमा एक पत्रकारमाथि सांघातिक आक्रमण भएको छ ।
धरानका पत्रकार दिलबहादुर राईमाथि गएराति कार्यकक्षमा काम गरिरहेकै अवस्थामा निर्घात कुटपिट भएको हो ।
पाँच/छ जनाको समूहमा आएको अपरिचित समूहले अचानक आफूलाई आक्रमण गरेको राईले जानकारी दिए । कुटपिटबाट राईको टाउकोमा गहिरो चोट लागेपछि राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर उपचार गरिएको थियो । टाउकोमा छ टाँका लगाएर उनलाई घर पठाइएको अस्पतालले जानकारी दिएको छ ।
राईमाथि कुटपिट गरेको आशंकामा धरानका फुर्वा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार शेर्पासँग लिएको बयानका आधारमा अरु आक्रमणकारीको खोजी भइरहेको छ ।
इटहरीका मेयरले पत्रकार विराट अनुपमलाई आक्रमण गर्न सुपारी दिइसकेको धम्की दिएकै दिन अर्का पत्रकारले आक्रमणको सिकार हुनुपरेको हो ।
मेयर जस्तो जिम्मेवार जनप्रतिनिधिकै यस्तो गुण्डागर्दीवाला धाकधम्की र सोही दिन पत्रकारमाथिको सांघातिक आक्रमणले जिल्लाका पत्रकारहरू असुरक्षित भएको भन्दै पत्रकार महासंघ सुनसरी शाखाले मिसन टोली बोलाएको छ ।
आजको न्युजसँग कुरा गर्दै पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले घटनाको यथार्थ बुझ्न केन्द्रीय कार्यालयबाट मिसन टोली बोलाइएको जानकारी दिए । धरानको घटनाबारे बुझ्न आफू त्यता जाँदै गरेको र १० बजे महासंघको बैठक बसेर बाँकी निर्णय गरिने उनले जानकारी दिए ।
मेयरको मानसिक सन्तुलन ठिक छैन, उपचार गराऔं : पर्शुराम बस्नेत
यसैबीच, नेकपा मोरङ जिल्ला कमिटी सदस्य पर्शुराम बस्नेतले पत्रकारमाथि धम्की दिने र आफ्नो नाम जोडेर सुपारी दिएको छु भन्ने इटहरीका मेयर द्वारिकलाल चौधरीलाई बर्खास्त गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम जोडिएर समाचारहरु आउन थालेपछि बस्नेतले आफ्नो फेसबुक वालमा पोस्ट गर्दै मेयर चौधरीको मानसिक सन्तुलन ठिक नभएकाले उचित उपचार र विकल्पको बाटो रोज्नुपर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘सामाजिक सञ्जाल र केही मिडियामा इटहरीका मेयर सापले मेरोसम्म नाम जोडेर पत्रकार मित्रलाई धम्क्याएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यदि मेरो साइनो सम्बन्धबेगर नै नाम जोडेर पत्रकारलाई धम्क्याउने काम मेयर सापले गरेको हो भने उहाँले मानसिक सन्तुलन गुमाएको हुनुपर्छ । यस्ता अराजक जनप्रतिनिधिलाई राज्य र पार्टी दुवैबाट कार्बाही गरी बर्खास्तसमेत गर्न जोड्दार माग गर्दछु ।’
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६