काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान् चाड इद उल फित्रले विविध धर्म र संस्कृति अँगाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।
शुभकामना सन्देशमा उनले पवित्र महिना रमदानको बिदाइसँगै शान्ति र भाइचाराको सन्देश प्रवाह गर्दै यस पर्वका अवसरमा विश्वभरका इस्लाम धर्मावलम्बीलाई ‘इद मुवारक’ भन्दै शुभकामना दिएका छन् ।
प्रधानमन्त्रीले दिएको सन्देशमा इस्लामिक क्यालेन्डरअनुसार रमदानको एक महिनाभरि भोक र तिर्खा बिर्सेर इन्द्रियहरूलाई क्रोध र स्वार्थजस्ता अवगुणबाट टाढा राखी मानव जातिका लागि आदर्श जीवनयापनको अभ्यास गर्ने अवधिका रुपमा ग्रहण गरिने उल्लेख छ ।
त्यसलगत्तै वर्षका बाँकी अवधिका लागि असल मानिसको जीवनयापन गर्न अभ्यस्त भएको खुसियालीमा यो पर्व मनाउने गरिएको विश्वास पनि मुस्लिम समुदायमा रहेको उनले बताएका छन् ।
सन्देशमा देशमा इस्लाम धर्मावलम्बीको धार्मिक स्वतन्त्रता, हकअधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न संवैधानिक व्यवस्थाअनुरुप मुस्लिम आयोग पनि क्रियाशील रहेको बताइएको छ ।
राष्ट्रपतिबाट पनि शुभकामना
यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि ‘इद उल फित्र’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिएकी छिन् ।
राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरिएको छ ।
राष्ट्रपति भण्डारीले सन्देशमा यस पर्वले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य लिएको उल्लेख गर्दै उनले मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न इद उलफित्रको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेकी छिन् ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६