काठमाडौं : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकार विराट अनुपमलाई नाककाे हड्डी भाँचिदने धम्की दिएका छन् ।
पत्रकार विराट अनुपमको फेसबुक पोस्टमा मेयर चौधरीले ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि यसबारे अनुपमले बुझ्न खोज्दा मेयर चौधरीले नाकको हड्डी भाँच्ने धम्की दिएका हुन् ।
अब तिम्रो नाकको हड्डी भाँच्न बाँकी छ , मेयर चौधरीले फोनमा भनेका छन् । मेयर चौधरीले पत्रकार अनुपमको स्टाटसमाथि कमेन्ट लेख्दै ‘अब तिम्रो पालो’ लेखेका थिए ।
के भने मेयर चाैधरीले पत्रकार अनुपमलाई ?
तिमीले के लेख्न बाँकी राख्या छौ ? तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याएको छु । एउटा घडेरी छुट्याएको छु । तिम्रो नाकको हड्डी भाँच्न मात्रै बाँकी छ । अब म गुन्डागर्दीमै उत्रिएँ । तिम्रो नाकको हड्डी भाँचेर मात्रै मलाई सन्तोष हुन्छ भाइ ।
भएकाे के हाे ?
मे २३ अर्थात् जेठ ९ गते पत्रकार विराट अनुपमले आफ्नाे फेसबुक वालमा यस्ताे स्टाटस लेखे :
कर्मचारीले राम्रो काम नगरेकोमा मेयरले कुट्न पाएजस्तै हाम्रो taxले साइकलमा हिँड्ने मेयर गाडीमा हिँडेको, तलब खाएको,आसेपासे जागिरमा हालेको तर जनताको काम नगरेको भन्दै जनताले तपाईंको गाला फुट्ने गरी कुट्न मिल्छ मेयर साब ?
त्यसकै जवाफ फर्काउँदै मेयर चाैधरीले कमेन्ट गरे, चाटु पत्रकार, अब तिम्राे पालाे !
साेही कमेन्टकाे विषयमा बुझ्न पत्रकार अनुपमले मेयरलाई फाेन गर्दा उनले नाक भाँच्ने धम्की दिएका हुन् ।
सुन्नुस् अडियाे (स्राेतः नेपाल लाइभ)
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६