कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–७ चुरेफेदीका बासिन्दालाई खानेपानीको अभाव हुन थालेको छ । लामो समयसम्म वर्षा नहुँदा ‘हातेपम्प’ सुकेपछि स्थानीय बासिन्दालाई खानेपानीको अभाव भएको हो ।
दुई महिनाअघिदेखि नै हातेपम्प सुक्न थालेको भए पनि जेठ महिनाको पहिलो सातादेखि भने हातेपम्पबाट पानी आउनै छाडेपछि स्थानीय बासिन्दाले वातावरण सामुदायिक वनले गाडेको बोरिङबाट पानी थाप्ने गरेका छन् ।
“सामुदायिक वनको बोरिङमा पनि थोरै पानी छ”, स्थानीय नरेन्द्रबहादुर धानुकले भने, “खानेपानी, बस्तुभाउलाई पानी खुवाउने र धानको बीउमा १७ परिवारले सोही पानीको प्रयोग गर्नु पर्दा निकै सास्ती खेप्नुपरेको छ ।”
गाँउका बासिन्दाले दुई दशकअघि जमिनबाट पाँच फिट तल पम्पसेट, त्यसको १० फिट तल जमीन मुनि पंखा राखेर सिँचाइ र खानेपानीका लागि पम्पसेट जडान गरेका भए पनि खडेरीका कारण त्यो पनि सुकेपछि पानीका लागि टाढा जानुपर्ने बाध्यता आइलागेको उनले बताए ।
घरमा पालेका बस्तुभाउलाई पानी खुवाउन र लुगा धुनका लागि विगतमा स्थानीय बासिन्दाले नजिकै स्याली नदीको पानी उपयोग गर्दै आएका थिए ।
जंगली जनावर बस्तीमा छिर्नबाट रोक्न र जैविक विविधता संरक्षणका लागि सामुदायिक वनले तारजाली लगाइदिएपछि यस क्षेत्रका बासिन्दा नदीको पानी उपभोग गर्नबाट समेत बञ्चित भएका छन् ।
दुई दशकअघि जडान गरेको पम्पसेट मर्मतका लागि वडा कार्यालय र नगरपालिकासँग बजेट माग गर्दासमेत सुनवाइ हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ । निजी लगानीमा हातेपम्प गाडनसमेत रु एक लाख ५० हजारभन्दा बढी रकम लाग्ने भएकाले सबै परिवारले खर्च उठाउन सक्ने अवस्था छैन । -रासस
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६