काठमाडौं : राष्ट्रिय अपांग महासंघ नेपालले हालै लोकसेवा आयोगले गरेको स्थानीय तहको कर्मचारी पदपूर्तिका लागि गरेको विज्ञापन सच्याउन माग गरेको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष रमेश लामाले सोमबार विज्ञप्ति जारी गर्दै निजामती सेवा ऐनले अपांगता भएका व्यक्तिलाई पाँच प्रतिशत आरक्षणको व्यवस्था गरे पनि आयोगले निकालेको नौ हजार एक सय ६१ पदको विज्ञापनमा तीन जनालाई मात्र आरक्षण गरेकाले ऐनअनुसार आरक्षणको व्यवस्था गरी विज्ञापन सच्याउन माग गरेको हो ।
‘स्थानीय तहमा तीन जना मात्र अपांगता भएका व्यक्तिलाई आरक्षण गरिएको अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, नेपालको संविधान २०७२ र अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को उल्लंघन भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले उक्त विज्ञापनमा उल्लिखित संख्या नौ हजार एक सय ६१ लाई १०० प्रतिशत मानी अपांगता भएका व्यक्तिले हालसम्म प्राप्त गरिरहेको पाँच प्रतिशत आरक्षण कायम राखी सच्याएर दरखास्त आह्वान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई आग्रह गर्दछौँ ।’
विज्ञप्तिमा आयोगले पुनर्विचार गरी विज्ञापन नसच्याए चरणबद्ध आन्दोलनको घोषणा गर्न बाध्य हुने उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६