झापा : विश्व साइकल दिवसको अवसर पारेर धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्दै यसको प्रचारप्रसार गर्ने उद्देश्यले झापामा सोमबार साइकल यात्रा सुरु गरिएको छ ।
‘स्वास्थ्यका लागि साइकल’ भन्ने नाराका साथ आन्तरिक तथा बाह्य पर्यटनको पहिचान गर्दै पर्यटन वर्ष–२०२० लाई सफल वर्षका रुपमा स्थापित गर्नसमेत साइकल यात्राको प्रारम्भ गरिएको अभियानका सञ्चार संयोजक पत्रकार मुक्ति पौडेलले बताए ।
नेपालको पूर्वी सीमा क्षेत्र मेचीनगरको काँकडभिट्टास्थित नेपाल प्रवेशद्वारबाट पत्रकार पौडेलसहित काँकरभिट्टा भेट्रान क्लबका संस्थापक अध्यक्ष एवम् व्यवसायी अर्जुन सुब्बा, पूर्वराष्ट्रिय क्रिकेटर महेन्द्र श्रेष्ठ, यातायात व्यवसायी मणि गिरी, व्यवसायी चन्द्र ढुंगेल र भेट्रान खेलाडी अञ्जन खतिवडाले साइकल यात्रा सुरु गरे ।
विश्व साइकल दिवसको अवसर पारेर निरन्तर रुपमा सञ्चालन गर्ने सञ्चारकर्मीसहितको यस अभियानबाट झापाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुनाका साथै पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको अभियानका सदस्य सुब्बाले बताए ।
अभियान टोलीलाई झापाको स्थानीय तहका तर्फबाट कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले स्वागत गरे । नगरप्रमुख पोखरेलले अभियानमा स्थानीय सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यात्राको पहिलो दिन झापाको कनकाई र शिवसताक्षी नगरका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गरिएको टोलीका सञ्चार संयोजक पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६