रसुवा : रसुवामा सोमबार साँझ टाटा सुमो दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता भएका छन् । घटनामा अरू पाँच जना गम्भीर घाइते भएका छन् ।
पोखराबाट रसुवाको गोल्जुङतर्फ आउँदै गरेको बा १० च ५८२० नम्बरको टाटासुमो सोमबार साँझ दुर्घटना भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता ईश्वरी भण्डारीका अनुसार मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको कालिका र गोसाइँकुण्ड गाउँपालिकाको सीमा क्षेत्रमा टाटासुमो दुर्घटना भई करिब एक सय मिटर तल त्रिशुली नदीमा खसेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२ वर्षीया साइली घले र ३५ वर्षीया मिन्दो घले रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
दुई जनाको घटनास्थलमा तथा एक जनाको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । टाटासुमोमा सवार सबै उत्तरी रसुवाको गोल्जुङका बासिन्दा हुन् ।
गम्भीर घाइतेमा चालक आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय निमा तामाङ, ३५ वर्षीया जौरानी घले, २९ वर्षीय योङजुङ तामाङ, पाँच वर्षीया फुर्वु याङजेन तामाङ र तीन वर्षीय निम छेवाङ तामाङ छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँ लगिएको त्रिशूली अस्पतालले जनाएको छ ।
आमाछोदिङ्मो–४ का ४८ वर्षीय पासाङदे घले, १९ वर्षीया कामी याङ्जेन घले र २० वर्षीया लेताङ घले बेपत्ता रहेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । प्रहरी नायब निरीक्षक भागेन्द्रपुरूष ढकालको नेतृत्वमा घटनास्थल गएको प्रहरी टोलीले अहिले बेपत्ताको खोजी गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६