पाँचथर : साथीको सहयोगमा घाँटी रेटी हत्या गर्ने दुई जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
गत वैशाख २९ गते साँझ हिलिहाङ गाँउपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्या गर्ने अभियुक्त पदम तामाङ र भगिरथ बाँस्तोलालाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।
प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले पदम र शीतलबीच पहिलाबाटै प्रेम सम्बन्ध रहेको र पे्रममा खटपट भएपछि हत्या गरेको बयान दिएका बताए । बाँस्तोलालाई भने हत्या भएको भोलिपल्ट नै प्रहरीले फिदिमबाट पक्राउ गरेको थियो । तामाङलाई आइतबार झापाको दमकबाट पक्राउ गरिएको उनले बताए ।
फाल्गुनन्द गाउँपालिका–२, पात्लेभज्याङ निवासी तामाङले छिमेकी साथी बाँस्तोलाको सहयोगमा शीतलको गाउँमा रहेको खाली घरमा बोलाएर घाँटी रेटी हत्या गरेका थिए । हत्या भएको २१ दिनपछि तामाङलाई पक्राउ गर्न सफल भएको कुँवरले बताए ।
जिल्ला प्रहरी कार्यालय पाँचथर र झापाका विभिन्न प्रहरी युनिटसँगको सहकार्यमा तामाङलाई पक्राउ गरिएका उनले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६