काठमाडौं : दोस्रो अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवअन्तर्गतको अन्नपूर्ण म्याराथनको उपाधि खगेन्द्र भाटले प्राप्त गरेका छन् ।
अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरी चार घण्टा छ मिनेट ५३ सेकेन्डमा पार गर्दै उनले उपाधि जितेका हुन् ।
त्यस्तै हरिकुमार रिमालले उक्त दूरी चार घण्टा १४ मिनेट ४० सेकेन्डमा पार गर्दै द्वितीय स्थान हासिल गरे । त्यस्तै गोपाल तामाङले चार घण्टा २२ मिनेट २९ सेकेन्डमा उक्त दूरी पार गरी तेस्रो बनेका छन् ।
समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट सुरु म्याराथन माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाडापानी र भैँसीखर्क हुँदै घान्द्रुकमा समापन भएको हो ।
म्याराथनमा प्रथम हुने धावकले एक लाख पाँच हजार, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने छन् । धावकलाई युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६