बच्चाले केही चकचक गर्दा बुबाले कुटेर सजाय दिएमा चिच्याहटसहित सुरक्षा दिन ‘आमा ! आमा !’ भनेर आग्रह गर्नु सामान्य हो । अथवा यस्तो आग्रह नगर्ने सन्तानै हुँदैनन् ।
त्यस्तै श्रीमतीलाई छिमेकी वा कोही कसैले हेपायती व्यवहार देखाएमा पहिलो संरक्षक श्रीमान्लाई नै मान्नु पनि समान्य विषय हो । कहिले समाजमा व्यवहार तथा सम्बन्ध बिग्रिँदा दाजुभाइले सहयोग गर्छन् भनेर दाजुभाइकहाँ गएर समस्या राख्नु पनि सामान्य मानिन्छ ।
नेपालमा बढ्दो आपराधिक घटना र मानवीय व्यवहारमा मौलाएको क्रुरता हेर्ने हो भने माथि उल्लेख भएका आशलाग्दा पात्रहरूको विश्वास गर्ने ठाउँ सकिएको छ । यसरी नै हो भने न आमाको विश्वास गर्न सकिन्छ, न त बुबा । छोरा वा कोही आफन्तको विश्वास गर्ने ठाउँ नै नरहेको पुष्टि हुन्छ, पछिल्ला केही घटनालाई हर्दा ।
बलात्कार र हत्या जस्ता जघन्य अपराधसम्बन्धी प्रहरी प्रधान कार्यालयको तथ्यांक हेर्ने हो भने अधिकांश आपराधिक घटनामा आफन्त र चिनजानका मानिसहरूको संलग्नता देखिन्छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार पछिल्लो दुई वर्षको तथ्यांक अनुसार आफन्त र चिनजानकाबाट धेरै आपराधिक कार्य भएका छन् ।
तथ्यांकले कसैको मन्जुरीबिना तथा इच्छाविपरीत हुने यौनजन्य घटना दिनैपिच्छे बढेको देखाउँछ । आर्थिक वर्ष २०७२/०७३ मा देशभर एक हजार ९० जना बलात्कृत भएका थिए । जसमा ४४ प्रतिशत मात्र घटना नचिनेकाबाट भएको थियो भने बाँकी घटनामा चिनेका र आफन्त नै संलग्न देखिए ।
५६ प्रतिशतमध्ये पनि ६.१५ प्रतिशत बलात्कार हाडनाताभित्र भएका छन् । त्यस्तै आर्थिक वर्ष २०७३/०७४ मा देशभर एक हजार एक सय ३८ बलात्कारका घटना भए । जसमध्ये १२.१३ प्रतिशत हाडनाताभित्र साथै ३६ प्रतिशत चिनजान भएकाबाटै बलात्कार भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ ।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा एक हजार चार सय ६८ बलात्कारका घटना भए । यस आर्थिक वर्षमा पनि करिब ६९ प्रतिशतबाहेक बलात्कार आफन्त र चिनजानबाटै भएका छन् । त्यस्तै चालु आर्थिक वर्षको चैतसम्मको बलात्कारका घटना अध्ययन गर्दा २७ प्रतिशत घटना आफन्तबाटै भएका छन् । चालु आर्थिक वर्षको चैतसम्म देशभर एक हजार चार सय ४५ बलात्कार भएको छ ।
नेपाल प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी १६ वर्षमुनिका बालिका बलात्कृत भएका छन् । आर्थिक वर्ष २०७२/०७३ देखि चालु आर्थिक वर्षको चैतसम्मको तथ्यांक हेर्ने हो भने पाँच हजार एक सय ३४ बलात्कृत हुँदा एक हजार नौ सय ५७ जना १६ वर्ष मुनिका बालिका बलात्कृत भएका छन् ।
पछिल्लो चार वर्षको तथ्यांकअनुसार नेपालमा १० वर्षमुनिका आठ सय ७४ नाबालिका बलात्कृत भएको नेपाल प्रहरीसँग तथ्यांक छ । तर नेपालमा चार वर्षको अवधिमा पाँच हजार एक सय ३४ बलात्कृत हुँदा एक जना पनि पुरुष पीडित नहुनुले पनि महिलाहरू असुरक्षित रहेको देखाउँछ ।
त्यस्तै नेपालमा आफन्तबाटै असुरक्षित हुने मुख्य घटनामध्ये हत्या पनि एक हो । पछिल्लो आर्थिक वर्षको चैतसम्म हत्याका घटना हेर्ने हो भने चार सय ९२ जनाको हत्या भएको पाइन्छ । जसमा ८० प्रतिशत आफन्त, चिनजान, छिमकी र साथीभाइबाट भएको छ । साथै एक सय ५३ जनाको हत्या श्रीमान्बाट भएको छ भने २६ जनालाई श्रीमतीले हत्या गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै गत आर्थिक वर्ष ०७४/०७५ को तथ्यांकअनुसार छ सय आठ जनाको हत्या भएको छ । जसमा दुई सय छ जनाको आफन्तबाटै हत्या भएको प्रहरीको तथ्यांक छ ।
नेपाल प्रहरीका अनुसार नेपालमा बढ्दो आपराधिक घटनासँगै क्रुरता बढ्दै गइरहेको छ । बलात्कारको कारण शारीरिक संरचना नभएर पुरुषत्व मानसिकताले हुने गरेको छ । बलात्कार हुनुको मुख्य कारण र आधार बलात्कारी संस्कृति हो । बलात्कारी संस्कृति भनेको पुरुष प्रभुत्वमा हुने सामाजिकीकरण प्रक्रिया हो ।
त्यस्तै नेपालमा हुने अधिकांश हत्याका घटना मदिरा सेवन र आर्थिक किचलोबाट भएको छ भने सामाजिक सञ्जाल पनि अर्को कारण रहेको नेपाल प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६