काठमाडौं : निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलायन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त भएकी छिन् ।
एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनपछि रिक्त पदमा उनकी पत्नी चन्दालाई नयाँ जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ । गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी आङछिरिङ शेर्पाको निधन भएको थियो ।
पर्यटन र उड्डयन क्षेत्रमा रहेको शेर्पाको व्यवसाय कसले सम्हाल्ने भन्ने विभिन्न धारणा बाहिर आएको थियो । चन्दा यसअघि यति एडभेन्चरकी प्रमुख थिइन् । कम्पनीले हालै चन्दा शेर्पालाई नयाँ जिम्मेवारी दिएको यति एयरलायन्सका वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिए ।
एयरलायन्सको कार्यकारी अध्यक्षमा लाक्पा सोनाम शेर्पालाई जिम्मेवारी दिइएको छ । उनी स्वर्गीय आङछिरिङका दाइ हुन् । कम्पनीको उपप्रबन्ध निर्देशमा नोर्बुछिरिङ शेर्पा, यती समूहको कार्यकारी निर्देशकमा विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृतमा उमेशचन्द्र राई र आर्थिक निर्देशकमा अनोज रिमाललाई नियुक्त गरिएको छ ।
यतीसँग हाल एटिआर ७२–५०० चार र जेटस्ट्रिम–४१ सिरिजका पाँच थान जहाज छन् । यतीकै भगिनी संस्था तारा एअरका दुई वटा डोर्नियर डिओ२२८ र चार वटा डिएचसी छ ट्विनअटर विमानबाट नेपालका विभिन्न दुर्गम स्थानमा सेवा प्रदान गर्दै आएको छ । अबका केही दिनमा यतीको पाँचौँ एटिआर विमान भित्र्याउने तयारी गरिएको यतीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६