भद्रपुर : झापाको मेचीनगर नगरपालिका–७ स्थित काँकडभिट्टाका एउटै परिवारका दुई जनाको रेल दुर्घटनामा परी मृत्यु भएको छ ।
गत शनिबार बिहान ११ बजे भारतको बाघपुल नजिकै मङ्पुमा काँकडभिट्टा निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ र उनका ११ वर्षीय छोरा रोहनको रेलले किचेर घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा इन्द्रका श्रीमती डम्बरकुमारी श्रेष्ठ घाइते अवस्थामा रहेको उनीहरूका छिमेकी पत्रकारले जानकारी दिए । उनको शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको छ । उपचारका लागि डम्बरकुमारीलाई विराटनगरस्थित नोवेल मेडिकल कलेज भर्ना गरिएको इन्द्रका दाजु खेमराजले बताए ।
उनका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित बुधबार इन्द्रको चार जनाको परिवार आफन्त भेटघाटका लागि मावली घर टिस्टा पुगेका थिए । बिहानको खाना खाएर रेलको लिक नजिकै रूखको फेदमा शीतल तापेर बसेका इन्द्रलाई तीव्र गतिमा आएको रेलले किचेको र श्रीमती डम्बरी बचाउन जाँदा कान्छो छोरासमेत सँगै पुगेको बताइएको छ ।
आमा गएको देखेर कान्छो छोरा रोहन पछिपछि कुदेर जाँदा रेलले उनलाई पनि किचेको थियो । जेठो छोरा भने केही पर रहेकाले दुघर्टनाबाट बच्न सफल भएको परिवारजनले जनाएको छ । मृतक रोहन काँकडभिट्टास्थित लोफोफोरस अंग्रेजी मावि कक्षा ६ मा अध्ययरत रहेको प्रधानाध्यापक सागर गुरुङले बताए ।
भारतीय प्रहरीले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाएको छ । भारतको एक मेडिकल कलेजमा शवपरीक्षणपश्चात् आइतबार मात्र बाबुछोराको शव नेपाल ल्याइएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले दुर्घटनामा मृत्यु भएको सुने पनि आधिकारिक जानकारी प्राप्त नभएको बताए । उनले भारतीय प्रहरीसँग बुझ्दा घटना भएको स्वीकार गरे ।
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६