राजविराज : कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको समूहको आक्रमणबाट आइतबार सप्तरीको उत्तरी क्षेत्रमा १० घरमा क्षति पुगेको छ ।
उक्त हात्तीको समूहले शम्भुनाथ नगरपालिका–२ स्थित कनकपट्टी टोलमा १० घर भत्काउँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति गरेको प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए ।
उनका अनुसार कनकपट्टी बस्ने दुर्गानन्द सरदारको एक, फुलोदेवी सरदारका दुई फुसका घर, लक्ष्मण शर्माको एउटा फुसको घर भत्काउनुका साथै अन्नको क्षति गरेको छ । यस्तै देवी चौधरीको फुसको घर, कमल शर्माको फुसको घर, देवेन्द्र रामको फुसको घर,.उमेश्वर साहको टिनको छानो भएको घर भत्काउनुका साथै अन्न जंगली हात्तीले क्षति गरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
देवकुमारी सरदारको टिनको छानो भएको घर, दनाइ सरदारको फुसको घर र सूर्यनारायण चौधरीको खेतमा लगाइ धानवालीसमेत नष्ट गरेको प्रहरीले जनाएको छ । शनिबार मात्र हात्तीको समूह जंगल हुँदै रुपनीका विभिन्न क्षेत्रमा प्रवेश गर्न लागेको खबर आएपछि पुगेको प्रहरी टोलीले चार राउन्ड हवाई फायर गरी हात्ती धपाएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिए ।
कोसीटप्पु वन्यजन्तु आरक्षका हात्तीको आक्रमणमा परी जिल्लामा एक वर्षभित्र छ जनाको ज्यान गइसकेको छ । यस अवधिमा हात्तीले ४८ घर भत्काएको छ भने सय बिघाभन्दा बढी जमिनमा लगाइएको अन्नबाली नष्ट गरेको स्थानीय कृषक सीताराम चौधरीले बताए । –रासस
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६