बजेट भाषण सुन्न सारा नेपाली जनता जेठ १५ गते बुधबार बेलुका ४ बजेको प्रतीक्षामा थिए । हातमा ब्रिफकेस, ब्रिफकेसमा बेरिएको रातो रिबन, शरीरमा चिटिक्क सुहाएको राष्ट्रिय पोसाक, खुट्टामा टलक्क टल्किने जुत्तासँगै मुसुक्क मुस्कुराउँदै संसद् भवनको रोस्ट्रममा उभिए, अर्थमन्त्री डा.युवराज खतिवडा ।
केपी शर्मा ओली सरकारले सिर्जना गरेको समृद्ध नेपाल, सुखी नेपाली नारालाई यो बजेटले कत्तिको सहयोग र साकार पार्ला भन्ने मनसायले बजेट भाषण सुन्न, काेही टेलिभिजन, काेही रेडियो त कतिपय अनलाइन इन्टरनेटमा व्यस्त देखिन्थे त्यो दिन ।
अर्थमन्त्री डा. खतिवडाले देश र जनताका निम्ति बजेट भाषण सुरु गरे । देशका समसामयिक र विभिन्न योजना–आयोजनाहरूलाई समेट्दै बजेट तथा कार्यक्रम प्रस्तुत गरे । करिब दुई घण्टा लामो बजेट भाषण पनि गरे अर्थमन्त्रीले ।
तर देशलाई समृद्ध र देशवासीलाई खुसी बनाउने नाराले सुदूरपश्चिमेलीलाई बजेटले छुन नसेकेको प्रष्ट हुन सकिन्छ । यो भान सुदूरपश्चिमका केही दिग्गज र समाजले रुचाएका व्यक्तित्वद्वारा सामाजिक सञ्जालमा लेखिएका स्टाटसहरूलाई पनि उदाहरणका रूपमा लिन सकिन्छ ।
अझ कतिपय ठाउँमा बजेटले आफूहरूलाई नसमेटेको भन्दै बजेटको विरोध कार्यक्रमहरू पनि भएका छन् । यसले पनि सरकारले सुदूरपश्चिमलाई सौतेनी व्यवहार गरको प्रष्ट हुन्छ । अन्य ठाउँ तथा प्रदेशहरूमा बजेटलाई स्वागत गर्नु तर सुदूरपश्चिमका जनताद्वारा विराेध जनाउनुले सुदूरपश्चिमा आयोजनाहरू कतिको समेटिए तथा बजेट कत्तिको विनियोजन भयो भनेर बुझ्न सकिन्छ ।
धनगढीका गड्सेरी माइला लेख्छन्- ‘यसै सुदूर त्यसै सुदूर त्यसमा पनि आफै सुदूर भएकाहरूलाई क्यार्न चाहियो बजेट ? बजेट आएपछि त सुदूर रहन्न,अविकसित रहन्न,यसको पहिचान नामेट हुन्छ ।’ त्यो स्टाटसको प्रतिक्रियामै पत्रकार जी भट्ट लेख्छन्- सुदूरपश्चिमको पहिचान सुदूर राखिराख्न बजेट आउनु हुन्न ।’
यस्तै विद्यार्थी नेता कृष्णबहादुर रोकाया लेख्छन्- ‘सेती लोकमार्ग र पश्चिम सेतीको त नामै छैन हो यो लोकप्रिय बजेटमा ?’ त्यस स्टाटसको मुनितिर दीर्घ शाही लेख्छन्- सुदूरपश्चिमका योजनलाई त योजना नै मानेन किन देशका लागि हाम्रो योगदान छैन होला र ?
यस्तै कमलसिहं धाँट भन्छन्– यो बजेटले सुदूरपश्चिममा विकास होला भन्ने त पटकै आश छैन । यसअघि पनि बजेट नआएको होइन सधैं आउछ जान्छ । विकास भने जिरो छ । मलाई त लाग्छ विकास नहुनुमा नेताहरूको स्वार्थ हो किनकि यदि विकास भयो भने अब आउने चुनावमा जनतालाई झुट बोल्ने एजेन्डा नै हुँदैन ।
यी त प्रतिनिधि स्टाटस मात्र हुन् । सयौंले यस्ता र यस्तै प्रकारका स्टाटसहरू राख्दै सुदूरपश्चिमलाई बजेटले छुन नसकेको उल्लेख गरेका छन् ।
यो वर्षको बजेटले मात्र होइन, बर्सेनि प्रस्तुत हुने बजेटले सुदूरपश्चिमलाई उपेक्षा गरेको पाउन सकिन्छ । सर्वहाराहरूको पक्षमा वकालत गर्ने कम्युनिस्टकाे दुज्ई तिहाईकाे सरकारले त हाम्रो पीडा र मर्म बुझ्न सक्छ भन्ने बुझाइ राखेका सुदूरपश्चिमेलीहरू यो बजेटका कारण अझै पुरानै बुझाइमा अलमलिएका छन् ।
वि.सं. २०५२ सालमा निर्माण भएको कर्णाली पुलले सुदूरपश्चिम पनि नेपालभित्रै पर्छ है भन्ने दुविधा अन्त्य गर्यो । कर्णाली पुल बन्नुअगाडि राज्यको ध्यान सुदूरपश्चिममा थिएन । पुल बनेसँगै आफ्ना भौतिक सुविधा पाउने सपना देखेका सुदूरपश्चिमेलीहरूले अहिलेसम्म सपना देख्न छोडेका छैनन् ।
अहिलेसम्म सुदूरपश्चिमले तीन वटा प्रधानमन्त्री जन्माइसकेको छ । तर जनताले जन्माएका ती प्रधानमन्त्री आफू बने अनि जनतालाई उही भुमरीमा घुमाइरहे । समय फेरियो, सरकार चलाउने पात्र फेरिए तर ती पात्रहरूको प्रवृत्ति भने कहिल्यै फेरिएन ।
अहिले मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै केही विकास हुने अपेक्षा गरेका जनतालाई यो बजेटले पनि निराश पारेको छ । सरकारले सुदूरपश्चिलाई हेर्दै हेरेन भन्ने हुँदै होइन । तर अन्य प्रदेशको तुलनामा जहिल्यै पछाडि पर्छ सुदूरपश्चिम जो बिडम्वना हो । योभन्दा अगाडिका वर्ष थोरै भए पनि बजेट तथा कार्यक्रम आएकै हो । तर आएका कार्यक्रम पनि अहिलेसम्म नबन्नु शंकाको विषय हो ।
अर्थमन्त्री डा. खतिवडाले बजेटमा पश्चिम सेती आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरेको बताएका छन् । प्रत्यक्ष रकम छुट्याएर काम थालेका आयोजनाहरू बन्न नसकेका सुदूरपश्चिममा के यो हरफले पश्चिम सेती बन्ला त ? यो पनि शंकाको विषय छ । अर्थमन्त्रीले सुदूरपश्चिमका सबै योजनामा निश्चित बजेट नछुट्याई बजेटको व्यवस्था गरेको छु, प्राथामिकता राखेको छु जस्ता शब्द प्रयोग गर्नुले पनि सुदूरपश्चिमेलीहरूमा निराशा आउनु स्वभाविक हो ।
अर्थमन्त्री खतिवडाले सुदूरपश्चिम प्रदेशलाई यसै वर्ष पूर्ण रूपमा अँध्यारोमुक्त प्रदेश घोषणा गरिने बताइरहँदा झण्डै १२ लाख सुदूरपश्चिमबासी विद्युतको पहुँचबाहिर छन् । वर्षौंदेखि समाधान गर्न नचाहेको यो समस्या के यही वर्ष समाधान होला त ? यो पनि आशंकाको विषय बनेको छ ।
संविधानप्रदत्त संघीय नेपालका सात प्रदेशमध्ये सबैभन्दा बढी जलविद्युतमा धनी सुदूरपश्चिम छ । देशका चर्चित जलविद्युत आयोजनाहरू सुदूरपश्चिममै पर्छन् । तर जलविद्युतमा धनी रहेको सुदूरपश्चिममा उत्पादन भने शून्य रहँदा र सुदूरपश्चिमबासी अँध्यारोमै बस्नुपर्ने अवस्थाले पनि बुझ्न सकिन्छ कि सरकारले सुदूरपश्चिलाई कत्तिको ध्यान दिएको छ ।
बजेटमा अर्थमन्त्रीले बिपीनगर खुटिया–दिपायल, चैनपुर–उरै सडकका लागि बजेटको व्यवस्था गरेको उल्लेख गरिरहँदा कति बजेट छुट्याएको छ भनी उल्लेख गरेनन् । वर्षौं पहिलेदेखि चुनावताका मुद्दा बन्दै आएका यी सडक चाँडो बन्ने सुरसार छैन । चीनसँग जोड्ने चैनपुर ताक्लाकोट सडकलाई अहिलेसम्म निर्माण गरिनसक्नु विडम्वना हो । जुन सडक बने सुदूरपश्चिम मात्र होइन देशको नै आर्थिक गति बढ्न सक्ने देखिन्छ ।
एसियाको दोस्रो लामो झोलुङ्गे पुल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, बेतकोट ताल, बैजनाथ धाम, लिङा क्षेत्र लगायतका पयर्टकीय गन्तव्य रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन नगरेपछि कञ्चनपुरबासी आन्दोलित भए ।
देशकै पश्चिमी सिमाना नजिक रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आए नजिकै रहेको भारतको राजधानी दिल्लीबाट समेत पर्यटक भित्र्याउन सजिलो हुने विश्वास गर्न सकिन्छ । तर सरकारको नजरमा यो विमानस्थल पर्न सकेको छैन ।
गत चैतमा भएको लगानी सम्मेलनमा सुदूरपश्चिमका महत्त्वपूर्ण पश्चिम सेती, एसआर ६ स्टोरेज, धनगढी क्षेत्रीय विमानस्थल, सुदूरपश्चिम परिबहन सेवा, एग्रिकल्चर अत्तरिया र खप्तड टुरिजम गरी सात वटा ठूला योजनाहरू छनौट भएका थिए । तर बजेटले ती योजनाहरूलाई त्यति छुन सकेन ।
सत्तारुढ नेकपाका नेता भीम रावलले नै सुदूरपश्चिमलाई बजेटले प्राथमिकता नदिएको टिप्पणी गरेका छन् । आफ्नै पार्टीका अर्थमन्त्रीले पेस गरेको बजेटबारे रावलले पश्चिम सेती जलविद्युत र सेती लोकमार्ग कहाँ हरायो भन्दै टिप्पणी गरेका छन् । उनको टिप्पणीले पनि बुझ्न सकिन्छ कि नेपाल सरकारले सुदूरपश्चिमलाई हेर्ने नजर कहाँसम्मको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले गत फागुनमा धनगढीमा एउटै मञ्चमा भाषण गर्दै अब सुदूरपश्चिम सुदूर रहन्न । विगतमा उपेक्षा पारिएको सुदूरपश्चिमलाई क्षतिपूर्तिसहित विकास गरिने आश्वासन दिएका थिए । सधैं बजेटबाट ठगिएको सुदूरपश्चिलाई अब प्रमुख प्राथमिकताका साथ हेरिने संकल्प गरेका थिए । तर त्यो भाषण भाषणमै सीमित रहेको छ । बजेटले प्रदेशको मुहार फेरिने कल्पना गरेर बजेट भाषण सुनेका सुदूरपश्चिमबासीलाई उही पुरानै कथन ‘सूर्य पनि अस्ताउन मात्रै पश्चिम आउँदोरहेछ’ भनेजस्तै महसुस भएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६