काठमाडौं : धादिङ थाक्रे–५ पोखरीचौरका आइतबहादुर तामाङ वि.सं २०७१ सालमा वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गए । उनले २०७४ साल सम्म जसोतसो मलेसियामा दुख पिडा सहँदै काम पनि गरे ।
मलेसियामा ३ वर्ष बिताइसकेपछि विदेशमा पसिना चुहाउनुभन्दा आफ्नै पौरखले स्वदेशमा नै कृषि व्यवसाय गर्दा फाइदा हुने मनसायले त्यही वर्ष उनी घर फर्के ।
तीन वर्ष मलेसियामा गरेको कामको पीडा सम्झँदै उनले अहिले व्यावसायिक कृषि खेती सुरु गरेका छन् । उनले अहिले आफ्नै घरमा करिब ३० लाख रुपैयाँको लगानीमा बाख्रा फार्म, स्थानीय कुखुरा र कागती खेती गरेर व्यावसायिक कृषिमा लागेका छन् ।
मलेसियामा रहँदा मुस्किलले तीन लाख कमाउन सकेका उनी अहिले व्यावसायिक कृषिबाट मासिक ४० देखि ५० हजार रुपैयाँ कमाउने गरेको बताउँछन् ।
उनी भन्छन्, वैदेशिक रोजगारीबाट तीन वर्षमा कमाउने पैसा मैले व्यावसायिक कृषि गरेर छ महिनामा कमाउने गरेको छु, नेपालमा काम गर्दा मनग्य पैसा सहित सन्तुष्टि पनि मिलेको छ ।
उनको कृषि फार्ममा अहिले बुबा, भाइ र बहिनीले समेत सघाउने गरेका छन् । पहिले स्थानीय बाख्रापालन गरेका आइतले अहिले बोयर जातका बाख्रा समेत पालेका छन् ।
स्थानीय बाख्रा बढ्न समय लाग्ने भएकाले बोयर जातका बाख्रापालन गरेको उनले बताए । सुरुमा ३० वटा बाख्रापालन गरेका उनका अहिले सय बाख्रा छन् ।
अहिले स्थानीय मानिस बाख्रा र कुखुरा खोज्न आइतबहादुरकाे घरमा नै आउने गर्छन । बेच्नका लागि कुनै समस्या नै नरहेको उनकाे भनाइ छ ।
बाख्रा सँगसँगै आइतबहादुरले कुखुरा व्यवसाय पनि गर्दै अएका छन् । उनले अहिले पाँच सय कुखुरा पालेका छन् । घुम्न आउने मानिसले पनि स्थानीय कुखुराको मासु खोज्ने भएकाले कुखुरापालन गरेको उनले बताए ।
उनले गाउँबाट स्थानीय कुखुराका अण्डा सङ्कलन गरेर काठमाडाैंमा ह्याचारीबाट चल्ला उत्पादन गर्दछन् । आफैँ भेटरिनरी प्राविधिक भएकाले बाख्रा र कुखुरामा लाग्ने विभिन्न रोगको उपचार उनी आफै गर्ने गरेको पनि बताउँछन् । उनले ३५ दिने भेटरिनरी प्राविधिक तालिम लिएका हुन् ।
मलेसियामा दैनिक १२ घण्टा काम गरेर मुस्किलले ३० हजार कमाइ हुने बताउने आइत अहिले आफ्नै घरबारीमा व्यावसायिक बाख्रापालन, कुखुरापालन र कागती खेतीले राम्रो आम्दानी गरिरहेको सुनाउँछन् ।
विदेश बस्दा आफ्नै देशमा कृषिको सम्भावना देखेर यस क्षेत्रमा लागेको हुँ , उनी भन्छन्, सोचे जस्तो कमाइ पनि भइरहेको छ ।
उनले बाख्रा र कुखुराका लागि आफैँ दाना तयार गर्छन् । उनले गाउँघरबाट मकै, गहुँ, कोदोबाट दाना उत्पादन गर्छन् । यसैगरी आइतले सात रोपनी जग्गामा कागतीखेती समेत सुरु गरेका छन् ।
रामेछापबाट करिब दुई सय बिरुवा ल्याएर डेढ वर्षअघि मात्र कागती खेतीको सुरु गरेको उनी बताउँछन् । उनले विदेशमा पसिना चुहाउनुभन्दा आफ्नै पौरखले स्वदेशमा नै कृषि व्यवसाय गर्दा फाइदा हुने बताए । उनी अहिले गाउँमा प्रेरणाका स्रोत बनेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६