काठमाडाैं : खुम्बू पासाङल्हामु गाउँपालिका–१ खरिखोला, सोलुखुम्बूका लाक्पा नोर्बु शेर्पा उच्च हिमाली क्षेत्रका बिरामीको उद्धारमा व्यस्त हुन्छन् भने समय समयमा अप्ठ्यारो स्थानबाट शव पनि निकाल्ने गर्छन् ।
उनी नेपालका ‘लङलाइन रेस्क्यु गाइड’ हुन् । उनले स्वीसमा तीन हप्ते फ्रिल्यान्ड हेलिकोप्टर रेस्क्यु स्पेसलिस्टको तालिम लिएर ‘लङलाइन रेस्क्यु गाइड’ को रूपमा बिरमीको उद्धार गरेको नौ वर्ष नाघिसकेको छ । उनी यसअघि नेपालको तालिम प्राप्त हाई अल्टिच्युड गाइड हुन् ।
नेपालमा एक हजार चार सयभन्दा बढी हिमाल छन् । छ हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा कोही बिरामी परेमा हेलिकोप्टरको खोजी हुन्छ । जहाँ हेलिकोप्टर जान सक्दैन त्यहाँ नोर्बु जान्छन् । अर्थात् हेलिकोप्टर ल्यान्ड गर्ने ठाउँ छैन भन्ने कुरा भएपछि लाक्पा नोर्बु शेर्पा खट्नुपर्छ, त्यो ठाउँका लागि ।
VIDEO
नौ वर्षको अवधिमा उनले धेरै बिरामीको कुशल उद्धार गरी पुनर्जन्म दिएका छन् भने उनले धेरैको शव उठाएर परिवारलाई अन्तिम संस्कार गर्न वातावरण मिलाइदिएका छन् ।
उनी तालिम प्राप्त मात्र नभई अनुभवी उद्धारकर्ताको रूपमा परिचित छन् । उनले आफूभन्दा सिनियर उद्धारकर्ता, विश्वचर्चित क्लाइम्बरको पनि उद्धार गरेर बिरामी र आफन्तको मुहारमा खुसी ल्याएका छन् ।
उनी भन्छन्, ‘हिमालमा हावाको गति, लेक लाग्ने समस्या, अक्सिजनको कमी, चिसोपना, आदि धेरै कारणले जोखिम हुने भएकाले स्वास्थ्य कतिबेला के हुन्छ भनेर थाहा हुँदैन । समयमा उद्धार गर्न सकिएन भने बिरामीको दिमागभन्दा पहिले शक्ति सकिन्छ ।’
उनी त्यस्तै जोमिपूर्ण स्थानमा गएर आफ्नो ज्यानको पर्वाह नगरी उद्धार गर्छन् । उनले थपे, ‘मेरो खुसी भनेको जोखिमबाट बचेर आएकाको मुहारमा देखिएको खुसी हो ।’
नेपालमा उद्धारका टोली नभएको होइन । सरकारी स्तरबाट नेपाली सेना र नेपाल प्रहरीका उद्धार टोली पनि छन् । तर उच्च हिमाली क्षेत्रमा उनीहरूले उद्धार गर्न नसक्ने शेर्पाको भनाइ छ । शेर्पाका अनुसार छ हजार मिटरमाथिका उद्धार र त्यसभन्दा कम उचाइमा गरिने उद्धारमा धेरै फरक पर्ने उनको भनाइ छ ।
उनले हालसम्म सात हजार पाँच सय मिटरसम्मका बिरामीहरूको उद्धार गरिसकेका छन् । उनले भने, ‘नेपालमा धेरै हिमाल भए पनि उच्च हिमाली क्षेत्रमा उद्धार गर्ने धेरै न्यून हुँदा समस्या हुने गरेका छ ।’
उनका अनुसार एकै दिन धेरै ठाउँबाट उद्धार गर्नुपर्ने अवस्थामा उद्धार गर्न नसक्ने जस्ता समस्या हुने गरेका छन् । नेपालमा उच्च हिमाली क्षेत्रमा उद्धार गर्न सक्ने तालिम प्राप्त ‘लङलाइन रेस्क्यु गाइड’ दुई जना मात्र छन् । जसमध्ये उनी एक हुन् भने संखुवासभाका छिरिङ डेन्डुक भोटे अर्का हुन् ।
शेपार्का अनुसार नेपालमा चार जना तालिम प्राप्त भए पनि दुई जना विदेसिँदा दुई जनाले मात्र उद्धारको कामलाई निरन्तरता दिइरहेका छन् ।
बर्सेनि आरोहीको संख्या बढिरहेको हुँदा सरकारले यस्ता उद्धार गर्न सक्ने रेस्क्यु गाइडहरूको संख्या वृद्धि गनुपर्ने शेर्पा बताउँछन् । उनले आफूले गरेका काम उच्च हिमाली क्षेत्रमा भएकाले न त सरकार, न पत्रकार न त सम्बन्धित निकाय, कसैले पनि देख्न नसकेकामा दुःख व्यक्त गरे ।
उनले आफूले गरेको काम ओझेलमा परेको तथा सरकारले अहिलेसम्म नचिने पनि नेपालमा धेरै आरोही र साहसिक पथ प्रदर्शकको ज्यान जोगाएर भ्रमणका हिसाबले नेपाल सुरक्षित छ भन्ने पर्यटकको मनमा राख्न सफल भएको उनले बताए ।
उनले आफूले काम पनि न्यून तलबमा गर्दै आएको बताए । उनले भने, ‘नेपालका तलबमा बसेका नेता तथा कर्मचारीहरू सामान्य अफिसबाहिर अनुगमन तथा भ्रमणको नाममा जाँदासमेत भत्ता लिन्छन् । तर हामीलाई न त भत्ता न त सुरक्षा छ, न त पहिचान नै छ ।’
उनी पहिचान नभएको भन्दा पनि धेरैको उद्धार गर्नुपरेमा जनशक्ति नभएकामा बढी चिन्तित छन् । शेर्पाका अनुसार धेरैको उद्धारमा समस्या हुने गरेको छ । त्यहीँमाथि नेपालमा दुई जना मात्र यस्ता तालिम प्राप्त जनशक्ति हुँदा सबैतिर पुग्न सकिँदैन ।
नेपालमा उनी हिमालयन उद्धार संघमा पनि जोडिएर काम गरिरहेका छन् । हिमालयन उद्धार संघले नेपालको माथिल्लो क्षेत्रका बिरामीहरूको उद्धार गरेर उपचार गर्ने गरेका छन् भने उपचारका लागि नेपालमा दुई स्थानमा क्लिनिक पनि छन् । सोलुखुम्बूको चार हजार दुई सय मिटर अग्लो स्थान फेरिचेमा तीन जना डाक्टरसहितको क्लिनिक छ भने त्यति नै जनशक्ति भएको तीन हजार छ सय मिटर अग्लो मनाङमा पनि क्लिनिक छ ।
बिरामीको उद्धार गर्ने बेलामा हेलिकोप्टर ल्यान्ड गर्ने स्थान भए खासै समस्या नभए पनि ल्यान्ड गर्नै नमिल्ने ठाउँमा बिरामीको उद्धारकर्ताले जोखिम मोल्नुपर्छ भने चिसोका कारण विद्युतीय समस्याले गर्दा हेलिकोप्टर उडानमै समस्या हुने गरेको उनको भनाइ छ ।
‘लङलाइन रेस्क्यु गाइड’ शेर्पासँग हिमालमा काम गरेको १७ वर्षको अनुभव छ भने नौ वर्षको अवधिमा दुई सयभन्दा बढीको सकुशल उद्धार गरेका छन् उनले । साथै उनले नेपालको उच्च हिमाली क्षेत्र सगरमाथाबाट सात वटा शव निकालेका छन् । त्यस्तै धौलागिरिबाट छ वटा, आमाडब्लम र सेतोपोखरीबाट तीन/तीन तथा बरुन्जेबाट दुई गरी हालसम्म २१ वटा शव फेला पारेका शेर्पाले यस वसन्तयाममा मात्र दुई वटा थप शवको उद्धार गरेका छन् । साथै उनले काम थालेपछि ३५ भन्दाबढी शवकाे उद्धार गरीसकेकाे बताए ।
त्यस्तै चालु वसन्तयाममा उनले नेपालको कञ्चनजंघा, मनास्लु, मेरा, बरुन्जे, सगरमाथा लगायतका उच्च हिमाली क्षेत्रबाट २२ जनाको सकुशल उद्धार गरिसकेको बताए । उनले भने, ‘परिवारको खुसी र बिरामीको जीवन नै मेरो खुसी हो ।’
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६