काठमाडौं : आइतबार फेरि तरकारीको मूल्य एक्कासी बढेको छ । आज बजारमा उपभोक्ताहरु मंहगो मूल्यमा तरकारी तथा फलफूल खरिद गर्न बाध्य भएका छन् ।
खुद्रा पसलमा आज गोलभेंडाको मूल्य प्रतिकेजी एक सय ५० रुपैयाँसम्म खरिदबिक्री भइरहेको छ । वैशाखको दाँजोमा यो मूल्य ५० रुपैयाँ बढी हो । यस्तै आलुको मूल्यमा पनि वृद्धि भएको छ । वैशाखमा ४०/४५ पर्ने आलुको मूल्य आज खुद्रा पसलमा केजीको ५०/६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार भने आज गोलभेंडाको मूल्य प्रतिकेजी एक सय २० रुपैयाँ छ । त्यसैगरी आलुको प्रतिकेजी ५० रुपैयाँ रहेको छ । यस्तै सुकेको खुर्सानीको मूल्य ३ सय रुपैयाँ, काउलीको १ सय रुपैयाँ, ब्रोकाउली १ सय ३०, हरियो लसुन १ सय ३०, हरियो धनियाँ १ सय ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उपनिर्देशक तथा सूचना अधिकृत विनय श्रेष्ठले हिजोअस्तिको भन्दा तरकारीको मूल्य बढेको स्वीकार गरे । उनले तरकारीको उत्पादन कम र बजारमा माग बढी भएका कारण फलफूल तथा तरकारीको मूल्य बढेको बताए ।
बजारमा फलफूल तथा तरकारीको मूल्य बढे पनि वास्तविक किसानहरु भने बढेको मूल्य जति पैसा नपाउने बताउँछन् ।
तरकारी ओसारपसार गर्ने बिचौलियाका कारण बेलाबखत किसानहरु त मार्कामा पर्ने गरेक छन् नै, बिचौलियाका कारण उपभोक्ताको चुलो बल्न पनि मुस्किल हुने गरेको छ ।
याे पनि पढ्नुहाेस् :
आजकाे तरकारी बजार भाउ
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६