विमलबहादुर विष्ट
डोटी : सामाजिक लोकलाज तथा गरिबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश आङ (पाठेघर) खसेका महिला अझै गाउँमै आफ्नो रोग लुकाएर बस्न बाध्य छन् ।
सामाजिक लोकलाजका कारण उनीहरू उपचार गराउन खुलेर अस्पताल आउन सकिरहेका छैनन् । जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरू गाउँ समाजमा हुने लाजका कारण उपचार नगराई घरैमा बस्न थालेको जिल्ला अस्पताल डोटीका डा. भूषण मिश्रले बताए ।
उनले भने, हामीले जिल्लामा कैयाैंपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्यौं । तर हाम्रो लक्ष्यअनुसार उनीहरू आएनन् । कारण के ? भन्दा समाजको लाज रहेछ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा करिब तीन/चार दर्जनभन्दा बढी पाठेघर खसेका महिला छन्, जो समाजमा हुने लाजका कारण खुलेर उपचार गराउन आउन सकिरहेका छैनन् । पाठेघर खसेका बारेमा श्रीमानलाई भन्दा अर्को विवाह गर्ला कि भन्ने डरले श्रीमानलाई पनि यो रोगका बारेमा खासै नभन्ने गरेको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराकी तुलसी विष्टले बताइन् ।
उनले भने, हामीले गाउँघरमा अधिकांश महिला पाठेघरको समस्या भएको पाएका छौँ, उनीहरूले आफ्नो श्रीमान्लाई पनि दोस्रो विवाह गर्ने गर्ला भन्ने डरले नभन्ने गरेको बुझयौँ, श्रीमानले सहयोग गरे महिला उपचार गराउन आउने छन् । आफ्नोे ज्यान नै जोखिममा राखेर यहाँका महिला रोग लुकाउने गरेको डा मिश्रले बताए ।
उनले भने, ज्यान जोगाउनबाट बचाउनुहुन्छ भने श्रीमतीलाई उपचार गराउन ल्याउनुहोस् । जिल्लामा पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिए पनि लाजका कारण महिला नआउने गरेको चिकित्सक बताउँछन् । -रासस
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६