काठमाडौं : सरकारले निजामती सेवाको काम चुस्त र प्रभावकारी बनाउन कर्मचारीको सरुवा–बढुवा प्रक्रिया वैज्ञानिक प्रणालीबाट व्यवस्थापन गर्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विशेष खालको सफ्टवेयरको प्रयोग गरी उनीहरूको मूल्यांकन गर्दा प्रभावकारी हुने भएकाले सरकार वैज्ञानिक व्यवस्थापनतर्फ केन्द्रित भएकोे जानकारी दिए ।
शुक्रबार बसेको संघीय संसद्, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्री पण्डितले आफूले सुरुदेखि नै चक्रिय प्रणाली र अनुमानयोग्य सरुवा प्रणालीमा गृहकार्य गरिरहेको जानकारी दिँदै सफ्टवेर प्रणालीमा काम गर्दा सेवा चुस्त र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
मन्त्री पण्डितले कर्मचारी सरुवा हुने कि नहुने कुरा निश्चित प्रणालीमा व्यवस्था गरेपछि सफ्टवेयरले नै देखाउने उल्लेख गर्दै भने, ‘अति राम्रो गरेको भए अझै राम्रो ठाउँमा जनाएरै लैजाने, खराब काम गर्नेलाई, खराब जनाएरै सरुवा गर्ने, विशिष्ट परिस्थिति सिर्जना भयो भने त्यहीअनुसार गर्ने व्यवस्था ल्याउनु जरुरी छ ।
उनले गलत गर्नेलाई दण्डित गर्ने विषयमा भने कुनै संरक्षण नहुने भन्दै कर्मचारीलाई जवाफदेही बनाउने कुरामा कडाइ गर्ने गरी विधेयक आउनुपर्नेमा जोड दिए ।
निजी बैंकले घरबाट फोन गर्दा मोबाइल नउठाउने तर सरकारी कर्मचारीहरू घरको काम परे पनि कार्यअवधि नै छाडेर जाने अवस्था छ, कार्यालय समयलाई तोकिएको जिम्मेवारी र जवाफदेहीपूर्वक काम दिने र लिने गरी वातावरण बनाउन हामी सबै लागौँ , उनले भने ।
कर्मचारीको माथिल्लो तहमा समय तोक्ने कुरा ठीक भए पनि हरेक तहमा अवधि तोक्ने कुरा उचित नहुने मन्त्री पण्डितको भनाइ थियो ।
दफा १७ देखि २२ सम्म उल्लेख भएका विषयमा दफावार छलफलमा बिदा, निलम्वन र फाजिलमा परेकाहरूको हकमा बाहेक जिम्मेवारी नदिई ६० दिनभन्दा बढी राख्न नसकिने भन्ने बुँदामा आफ्नो भनाइ राख्दै समितिका सदस्यहरूले यसलाई १५ या ३० दिनमा झार्नुपर्ने सुझाव दिए ।
उनीहरूले ‘सचिवको पदावधि पाँच वर्षको हुने छ’ भन्ने बुँदामा सुझाव दिँदै संसद्ले तीन वर्षको मूल्यांकनको आधारमा थप दुई वर्ष बढाउन सकिने व्यवस्था गर्न सुझाव दिए ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६