काठमाडाैं : भारी वर्षाका कारण गएको पहिरोले पुरिँदा रोल्पामा एक जनाको मृत्यु भएको छ ।
पहिरोले लुग्री गाउँपालिकाको कार्यालयमा समेत क्षति पुर्याएको बताइएकाे छ । शनिबार अपरान्ह ४ बजेदेखि करिब आधा घण्टा परेको वर्षाका कारण गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालयसँगै रहेको घरमा बाहिर कुलेसो काट्दै गरेकी गौमाला माझीको मुत्यु भएको हो ।
अन्दाजी ४८ वर्षीया माझीको शव डोजर लगाएर निकाल्ने प्रयास भइरहेको छ । ४ः३० बजे पुरिएकी महिला ठूलो पहिरोमा पुरिएकाले निकाल्न समय लाग्ने उद्धारमा खटिएका गाउँपालिकाका कृषि प्राविधिक दिलबहादुर केसीले जानकारी दिए । उनका परिवार भने सकुशल रहेको बताइएको छ ।
माझीसँगै उनको घरसमेत पहिरोमा पुरिएको छ । पहिरोले स्वास्थ्य कार्यालयको भवनमा समेत क्षति पु-याएको छ भने दुई निजी मोटरसाइकलसमेत पुरिएको छ ।
गाउँपालिकाको भुइँतलाको दुइटै सटर पूर्णरूपमा पुरिएको छ । सरकारी नम्बरप्लेटको मोटरसाइकललाई पहिरोले क्षति पुयाएको छ । क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।
अझै पनि पानी पर्न सक्ने सम्भावना भएकाले पहिरोले थप क्षति पुर्याउन सक्ने भएकाले सजग हुन पहिरो नजिकका स्थानीयवासीलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६