च्याम्पियन्स लिगकाे उपाधि लिभरपुलले जितेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धि टोटेनहमलाई २–० ले हराउँदै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिगकाे उपाधी जितेकाे हाे। लिभरपुलले पछिल्लो पटक सन् २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो ।
लिभरपुललाई च्याम्पियन बनाउनका लागि मोहम्मद सलाह र परिवर्तित डिभोकओरिगीले गोल गरेका थिए । सलाहले दोस्रो मिनेटमा पेनाल्टी गोलबाट टोलीलाई अग्रता दिलाएका थिए ।
साडियो मानेको क्रसमा बल माउसा सिसोकोको ह्यान्ड भएपछि लिभरपुलले पेनाल्टी पाएको थियो । ओरिगीले खेल सकिन तीन मिनेट बाँकी रहँदा टोलीका लागि दोस्रो गोल गर्दै जितलाई पक्का पारेका थिए । ओरिगी ५८ औं मिनेटमा रोर्बेटो फर्मेनोको स्थानमा मैदान प्रवेश गरेका थिए ।
लगातार दोस्रो वर्ष लिभरपुलले च्याम्पियन्स लिग फाइनल खेलेको थियो । गत वर्ष टोली रियल म्याड्रिडसँग पराजित भएको थियो । टोटेनहमले पहिलो पटक च्याम्पियन्स लिग फाइनल खेलेको हाे।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६