भद्रपुर : भद्रपुर नगरपालिका–६ स्थित एग्रो राइस मिलमा शनिसबार बिहान विद्युत् चुहिएर आगलागी हुँदा एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय व्यवसायी सन्तोष र राजेश गुप्ताले सञ्चालन गरेको मिलमा आगलागी हुँँदा मेसिनरी सामान जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक केशव अधिकारीले बताए ।
शनिबार बन्द रहेको मिलमा बिहान साढे ९ बजे एक्कासी आगाे लागेकाे थियो । उद्योग बन्द रहेकाले मानवीय क्षति नभए पनि उद्योगका मेसिनरी सामान पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।
भद्रपुर नगरपालिकाको दुई र बिर्तामोड नगरपालिकाबाट आएको एक गरी तीन दमकलले एक घण्टा लगाएर आगो नियन्त्रणमा लिइएको थियो । मिल नजिकै पराजुली ग्यास उद्योग सञ्चालनमा रहेकाले आगो नियन्त्रणका लागि प्रहरी, स्थानीयबासीसहितको ठूलो जनशक्ति परिचालन गरिएको थियो ।
प्रहरीका अनुसार मिलको वेल्डिङ मेसिनबाट विद्युत सर्ट भई आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
यसैगरी पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङस्थित कालिका माध्यमिक विद्यालयको शिक्षक बस्ने क्वार्टरको कोठामा आगलागी हुँदा २२ लाख बराबरको क्षति भएको छ ।
शुक्रबार दिउँसो पौने १२ बजे विद्युत् चुहिएर आगलागी हुँदा तीन कोठे क्वाटर भवन, भवनभित्र रहेका सम्पूर्ण सामग्री जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
विद्यालयमा पठनपाठन भइरहेका बेलामा आगलागी भएको थियो । क्वाटरभित्रै रहेको भान्साघरमा रहेको ग्याँस सिलिण्डर विद्यार्थी र शिक्षकले समयमै निकाल्दा थप क्षति हुन नपाएको स्थानीयवासीको भनाइ छ ।
स्थानीयवासीको सहयोगमा शिक्षक र विद्यार्थीले आगाे नियन्त्रणमा लिएका थिए ।
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६