एजेन्सी : दिल्ली सरकारले दिल्लीमा मेट्रो र बसमा महिलालाई भाडा निशुल्क गर्ने तयारी गरेको छ । ‘बिजुली हाफ, पानी साफ (बिजुलीको मुल्य आधा, पानी निशुल्क)’ योजना सफलतापूर्वक लागु गरेको केजरीवाल सरकारले अब दिल्लीका मेट्रो रेल र सरकारी बस प्रयोग गर्ने महिलासँग भाडा नलिने तयारी गरेको हो ।
कुनै प्राविधिक अड्चन नआए ६ महिनाभित्र यो योजना लागू भइसक्ने गरी दिल्लीको राज्य सरकार अघि बढेको छ । दिल्ली सरकारले यो योजना कार्यन्वयन गर्नको लागि मेट्रो रेल करपोरेशनसँग एउटा प्रस्ताव माग गरेको छ । यसलाई कार्यन्वयनमा ल्याउनको लागि निशुल्क पास वा अन्य के विकल्प प्रयोग गर्न सकिन्छ भन्नेमा अझै स्पष्ट भइसकेको छैन ।
यो योजना लागु भएमा सरकारमाथि प्रति वर्ष १२ अर्ब भारुको आर्थिक भार पर्ने प्रारम्भिक अनुमान छ । दिल्ली सरकारको मनसाय यो योजनालाई बस र मेट्रोमा एकसाथ लागु गर्ने भन्नेछ । महिलाको निशुल्क सवारी डीटीसी र क्लस्टर स्कीमका सरकारी बसमा लागु गर्न सरकारलाई कुनै कठिनाई छैन ।
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६