झापा: मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था(एनएमसी)मा २० जना नयाँ कर्मचारी नियुक्तिका लागि एक हजार ६०० भन्दा बढीले आवेदन परेकाे छ ।
मुलुकमा शिक्षित बेरोजगारीको अवस्था र सहकारीको जागिरप्रतिको आकर्षणलाई उक्त सङ्ख्याले देखाएको छ । आज कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगकै परीक्षाको झल्को दिने गरी लिखित परीक्षा भइरहेको छ । सहायक अधिकृतस्तरका पाँच, वरिष्ठ सहायकस्तरका आठ र कार्यालय सहायकस्तरका सातजना कर्मचारीका लागि खुला आवेदन मागेको थियो ।
जसमा एक हजार ६०६ जनाले आवेदन भरेको र उनीहरु सबैलाई लिखित तथा मौखिक परीक्षामा सामेल गरेर २० जना छनोट गरिने संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले बताए । आजै मेचीनगर– १४ स्थित शहीद दशरथ मावि र त्रिदेव बहुमुखी क्याम्पसको २० वटा कोठामा ४० जना निरीक्षण खटाएर दुई चरणमा लिखित परीक्षा भइरहेको छ । एनएमसीको जागिरप्रतिको आकर्षण र निष्पक्ष परीक्षाप्रतिको विश्वासका कारण आवेदकको सङ्ख्या धेरै भएको संस्थाका उपाध्यक्ष उप्रेतीको भनाइ छ । परीक्षा सञ्चालनका लागि संस्थाले एनएमसी सेवा आयोग गठन गरेको छ भने आजको परीक्षामा दर्जनौँं सुरक्षा गार्ड र नेपाल प्रहरीसमेत परिचालन गरिएको छ ।
बचत तथा ऋण कारोवार गर्ने एनएमसीले एउटा डेरी उद्योग, एकीकृत कृषि परियोजना र उपभोक्ता भण्डारसमेत सञ्चालन गर्दै आएको छ । यो सहकारीमा हाल ६०० भन्दा बढी कर्मचारी, ३५ वटा सेवा केन्द्र, ७३५ करोड रुपैयाँको वार्षिक कारोवार, ६५ हजार भन्दा बढी सदस्य, ५६५ करोड रुपैयाँ निक्षेप र ६७ करोड रुपैयाँ शेयर पूँजी रहेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६